धरान: निजी विद्यालय सञ्चालक र स्टेशनरी व्यवसायी तथा बुक डिपोहरुबीच मिलेमतोमा अभिभावकहरुलाई एउटै पसलबाट मात्र शैक्षिक पाठ्य सागम्री खरीद गर्न बाध्य बनाएकोप्रति नेपाल विद्यार्थी संघले गम्भीर आपत्ति प्रकट गरेको छ ।

संघको महेन्द्र बहुखुमी क्याम्पस इकाईले स्टेशनरी व्यावसायी संघ, धरानलाई ध्यानाकषर्ण गराउदै विद्यार्थी तथा अभिभावकहरुलाई प्रत्यक्ष मारमा पार्ने गरी शिक्षामा कायम गरिएको यो सिण्डिकेट अन्त्य हुनुपर्ने पनि जनाएको छ । कार्वावाहक सभापति दोर्ची शेर्पाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा निजी विद्यालय सञ्चालक र बुक डिपोहरुको संलग्नतामा विद्यालयको पहिचान अंकित पाठ्य सामग्रीहरु मात्र प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था(शिक्षामा सिण्डिकेट) कायम गर्न खोजिएको उल्लेख छ । नयाँ शैक्षिक सत्र शुरु हुन लाग्दा नेवि संघले ध्यानाकर्षण गराएको हो ।

संघका कार्यवाहक सभापति शेर्पाका अनुसार निजी विद्यालयका सञ्चालक र स्टेशनरीसँगको मिलेमतोमा अभिभावकहरुलाई कुनै एउटा बुक डिपोमा मात्र कपी,ब्यागलगायत सामान किन्न बाध्य पारिन्छ । आफ्नो घर नजिकको पसल भएपनि त्यहाँ किन्न पाइदैन । अभिभाकवहरुले त्यसरी किन्न नपाओस् भनेर मिलेमतोमा नै कपी, ब्यागमा विद्यालयको नाम प्रिन्ट गरिएको हुन्छ । ‘नाम प्रिन्ट भएकै मात्र किन्नुपर्छ, त्यसको लागि बजारै पुग्नुपर्छ, बजारमा पनि जुन बुक डिपोमा भनिएको हो, त्यहाँ मात्र पाइन्छ,’शेर्पाले भने,‘विद्यालय सञ्चालक र बुक डिपोबीच कमिशनले गर्दा यस्तो भएको हो ।’

20190404_161243

एउटा मात्र बुक डिपोमा विद्यालयको नाम प्रिन्ट गरेको कपी, ब्यागलगायत शैक्षिक सामग्री किन्नु पर्दा अभिभावकहरु चर्को मुल्य तिर्नुपर्छ । अन्यत्र सस्तोमा पाइने कपी त्यहाँ कमिशनको पनि खेल हुने भएकोले महंगो पर्छ । ‘वास्तविक मुल्य ३० रुपैया पर्छ भने त्यहाँ ६० पर्छ, ५० मा पाइने हो भने सय तिर्नुपर्छ । किनभने, अन्यत्र किन्न नपाइने भएकोले अभिभावकले भनेजति मुल्य तिर्नबाध्य हुन्छन्,’शेर्पाले भने,‘प्रतिस्पर्धात्मक मुल्यमा अभिभावकहरुले खरीद गर्नै पाउदैनन् ।’ नेवि संघले यसलाई शैक्षिक अपराधजन्य कार्यको संज्ञा दिदै रोक्न पनि आग्रह गरेको छ । त्यसो नगरे संघले विद्यार्थी हकहितको लागि जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।