धरान: रोग लागेर उपचार गर्न अस्पताल जानु भन्दा रोग लाग्नै नदिएर स्वास्थ्य जीवन बनाउने उद्देश्य लिएर शुरु भएको धरान रनले व्यापकता पाउदै गएको छ ।

धरान रन प्रत्यके साता शनिबार बिहान धरान ८ स्थित यलम्बर पार्कबाट ३.५ किलोमिटर दौड हुन्छ । यस्तै, बर्षका एक पटक नेवा च्यारिटी धरान रन १० कि.मि.दौड प्रतियोगिता पनि हुने गर्छ । यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या भएकामध्ये एक हो । पछिल्लो केही बर्षयता धरान रनबाट प्रेरित भएर अन्य जिल्लाहरुमा पनि रन कार्यक्रम शुरु भएको छ ।

पुर्वी पहाडी जिल्ला ताप्लेजुङमा पनि ताप्लेजुङ रन शुरु हुने भएको छ । केही दिन अघि धरान रनको टिम ताप्लेजुङ गएर आवश्यक तयारी तथा अन्र्तक्रिया गरेको थियो । त्यसक्रममा ताप्लेजुङ रनको ३.५ किलोमिटर रुटको अध्ययन गर्नुको साथै धरान रनको अवधारणा, भिडियो प्रर्दशनी, स्वयमसेवक परिचालनलगायतको बिषयमा अन्र्तक्रिया र जानकारी गराइएको धरान रनका अध्यक्ष रमु राईले बताए । उनका अनुसार यही चैत ३० गतेदेखि ताप्लेजुङ रन शुरु हुदैछ । ‘बिहान साढे ७ बजे फुङलिङमा ताप्लेजुङ रन शुरु हुन्छ, यो हरेक साता धरान रन जस्तै हुन्छ,’उनले भने ।

taplejung-run2

ताप्लेजुङ रन शुरु गर्ने परिकल्पनाकार पुर्वब्रिटिश लाहुरे दिपेन्द्र गुरुङ हुन् । उनी धरान रनका संस्थापक सन्तोष राईका मित्र हुन् । उनको पहलमा ताप्लेजुङ रन संस्था दर्ता पनि भइसकेको छ । फुङलिङको विरेन्द्र चोकबाट शनिबार बिहान ताप्लेजुङ रन शुरु हुनेछ । ताप्लेजुङ रनको थिम रन फर लाइफ भन्ने हुनेछ । ‘धरान रनको अवधारणा विस्तार हुदै गइरहेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो,’धरान रनका अध्यक्ष राईले भने ।

धरानमा करिब ८ बर्षअघि धरान रन शुरुवात भएको थियो । थोरै संख्यामा युवाहरुले शुरु गरेको धरान रनको ख्याती अहिले धरानेहरुमा मात्र होइन, विभिन्न जिल्ला र विदेशमा पनि पुगेको छ । धरान रनबाट प्रेरित भएर पोखरा, दमक रन, भोजपुर रन पनि शुरु भइसकेको छ भने अब ताप्लेजुङ रन पनि शुरु हुने तयारीमा छ ।