धरान:बैशाख पहिलो सातादेखि नेपालगञ्ज क्षेत्रमा शुरु हुने आठौं राष्ट्रिय खेलकुदको लागि प्रदेश नं १ स्तरीय गल्फ खेलाडी छनौट प्रतियोगिता धरानमा शुरु भएको छ ।

नेपाल गल्फ संघको आयोजना तथा सुनसरी जिल्ला गल्फ संघ र धरान गल्फ क्लबको व्यवस्थापनमा निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा आजदेखि खेलाडी छनौट प्रतियोगिता शुरु भएको हो । पहिलो दिनको १८ होलको खेल सकिदासम्म शीर्ष ३ स्थानमा धरानका युवा खेलाडीहरु छन् । आठौ खेलकुदको लागि प्रदेश १ बाट ३ जना खेलाडी सहभागी हुन पाउनेछन् । यसैको लागि आज र भोली धरानस्थित गल्फ कोर्षमा छनौट प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा आज पहिलो दिन २३ जना एक ह्याण्डीक्याप खेलाडीहरुले भाग लिएका थिए । पहिलो दिनको १८ होलको खेल सकिदा १० जना खेलाडीहरु कट आउट भएर छनौट प्रतियोगिताबाट बाहिरिएका छन् । भोली मात्र १३ जना खेलाडीहरुबीचमा छनौट प्रतियोगिता हुने संघका केन्द्रीय उपाध्यक्ष तिलक राईले जानकारी दिए । उनका अनुसार आज ९ ओभरसम्मका खेलाडीहरु मात्र भोलीको लागि छनौटमा परेका छन् ।

पहिलो दिनको खेल सकिदासम्म धरानका चर्चित युवा गल्फर शुक्रबहादुर राई ५ अण्डर ६५ स्कोरका साथ पहिलो स्थानमा छन् भने ४ अण्डर ६६ स्कोरका साथ बबिन्द्र राई दोस्रो र २ अण्डर ६८ स्कोरका साथ निरज तामाङ तेस्रो स्थानमा छन् । तीनै जना धराने खेलाडी हुन् । टप थ्री खेलाडीहरुसँगै भोली १३ जनाबीच पुनः १८ होलको स्पर्धा हुनेछ र शीर्ष ३ जना खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रदेश नं १ को प्रतिनिधित्व गर्न पाउनेछन् ।

तस्बिर सौजन्य: देउराज पाख्रिन(प्रोफेस्नल गल्फरर)