धरान:तमोर नदीमा र्याफ्टिङ गर्ने क्रममा दुर्घटना भएर आज एक व्यक्तिको मृत्यु भएको छ ।

धनकुटाको सागुरीगढी गाउँपालिका ९ स्थित दिलुङटार(साविक आहाले) र्यापिडमा वोट पल्टिदा त्रियुगा नगरपालिका ६ का जलजलेका ५४ बर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो । वोट पल्टिएलगत्तै उनलाई उद्दार गरेर एम्बुलेन्सबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि पठाएपनि बाटोमा नै उनको निधन भएको थियो ।

र्याफ्टिङ गर्दा वोट पल्टिएर पर्यटकको ज्यान जाने घटना ज्यादै दुर्लभ हो । पर्यटकहरुलाई लाइफ ज्याकेट लगाइदिएको हुन्छ भने केही भइहाले रेस्क्यु गर्न गाइड पनि सँगै हुन्छ । आइतबार ज्यान गएका मृतक गुरुङ प्रेसरका पनि विरामी भएकोले एक मिनेटभित्रै उद्दार गरिए पनि उनको ज्यान गएको हो । ‘एक मिनेट भित्रै उद्दार भएको थियो, सबैलाई भन्दा अगाडि उहालाई नै निकालिएको थियो । तर प्रेसर पनि भएकोले समस्या भयो,’उनीसँगै र्याफ्टिङ गएका बुद्धिमान तामाङले भने ।

IMG_20190407_171100

मृतकसँगै उनका छोरा रोहित पनि र्याफ्टिङ गएका थिए । र्याफ्टिङ जाने चाजोपाजो एवं समन्वय सबै मृतक गुरुङले नै गरेका थिए । उनी उदयपुर सिमेन्ट फ्याक्ट्रीमा एसिस्टेन्ट इञ्जिनियर थिए । उदयपुरसमेतको टिमलाई धरानको सेतु एडभेञ्चरले ४ वटा वोटमा र्याफ्टिङ लगेको थियो । एउटै वोटमा भएका मृतकका साथीहरुका अनुसार र्यापिड आएर ढुंगामा बोट ठोक्किएको थियो । दाहिने साइडमा ढुंगामा वोट ठोकिएर देब्रेपटि पल्टिएको थियो । ‘ज्यानै जानुपर्ने अवस्था थिएन, लाइफ ज्याकेट पनि थियो । हामीले त एक मिनेटमै रेस्क्यु गरेको थियौ । प्रेसरको औषधी पनि खाइरहने मान्छे भएर यस्तो भयो,’कायक गाइड मनोज सुनारले भने ।