धरान:दाउफिन्स क्लब क्यामरुन चौथो अन्तरराष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको फाइनलमा पुगेको छ ।

सुनसरीका बराहक्षेत्र नगरपालिका ५, कालाबञ्जार स्थित ज.डे.ज.माविको खेल मैदानमा आइतबार सेमीफाइनलमा चर्च ब्वाइज काठमाण्डौंलाई १–० गोलअन्तरले हराउदै दाउफिन्स फाइनल पुगेको हो । दाउफिन्सको जितमा ओगुनी जेआरले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा दाउफिन्स १० खेलाडीमा सिमित भएको थियो । रेफ्रीले बि.बेलेमलाई रेड कार्ड दिदै मैदान बाहिर पठाएका थिए । चर्च ब्वाइजले थुप्रै गोल गर्ने प्रयास गरेपनि दाउफिन्सका गोलकिपरले असफल बनाइदिएका थिए । खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता दाउफिन्सका ओगुनी घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी मुनविम एकेडेमीका प्रिन्सिपल देवेन्द्र बिष्टले प्रदान गरे ।

प्रतियोगितामा सोमबार आयोजक क्लब र रेड हर्षबीच दोस्रो तथा अन्तिम सेमीफाइनल खेल हुनेछ । यो खेलको विजेतासँग दाउफिन्सले फाइनलमा २७ गते उपाधिको लागि खेल्नेछ । हिजो शनिबार मात्र दाउफिन्सले दुहबी गोल्डकपको उपाधि जितेको थियो ।