धरान:सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित कालाबञ्जारमा जारी टुबोर्ग चौथो अन्र्तराष्ट्रिय आमन्त्रण भरौल गोल्डकपमा रेड हर्ष क्लब इलाम फाइनल पुगेको छ ।

ज.डे.ज.खेल मैदानमा सोमबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आयोजक न्यू स्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै रेड हर्ष फाइनल प्रवेश गरेको हो । रेड हर्ष भरौल गोल्डकपको साविक विजेता टोली हो । अब रेड हर्षले उपाधि रक्षाको लागि चैत २७ गते फाइनलमा दाउफिन्स क्लब क्यामरुनको सामना गर्नुपर्नेछ । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिए पनि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा रेड हर्षले आयोजक न्यू स्टारलाई ४–२ गोलअन्तरले स्तब्ध बनायो ।

टाइब्रेकरमा रेड हर्षका मनिष थापा, प्रदिप विष्ट, प्रविण राई र दर्शन गुरुङको प्रहार गोलमा परिणत भएको थियो भने आयोजकका दिपक गुरुङ र सुरज बिकको प्रहार मात्र सफल भयो । अनिल धामी र निशान लिम्बू गोल गर्न असफल भए । निसानको प्रहार रेड हर्षका गोलकिपर पुर्ण चेम्जोङले रोक्दा अनिलको प्रहार बारमा ठोक्किएको थियो । रेड हर्षका गोलकिपर चेम्जोङ म्यान अफ दि म्याच घोषित हुदै नगद ५ हजार पुरस्कार हात पारे ।

56764385_846813215656766_22

फाइनलको विजेताले ट्रफीसहित नगद ३ लाख पाउनेछ भने उपविजेताले नगद डेढ लाखमा हात पार्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २५ हजार, हाइ स्कोररसहित विधागततर्फ उत्कृष्ट हुने खेलाडीले नगद १० हजार पाउनेछ भने उदयीमान खेलाडीले नगद ५ हजारसहित मोवाइल सेट पाउनेछ ।