ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सिरहाका ल्याव तथा पोलिक्लिनिक मापदण्ड विपरीत” शीर्षकको समाचार छापिएको छ । सिरहा जिल्लामा सञ्चालित अधिकांश प्याथोलोजी ल्याव, औषधि पसल तथा पोलिक्लिनिकहरु मपदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । सरकारीको नियमानुसार दर्ता नभएको पाइएको हो । अधिकांश ल्याव तथा पोलिक्लिनिकहरु मपदण्डअनुरुप सञ्चालनमा छैनन् भने कतिपयको नवीकरण नभएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । सिरहाका शहरी क्षेत्रमै सञ्चालित ल्याव तथा पोलिक्लिनिहरुले मूल्य सुचीसमेत नराखेको अनुगमन अधिकारीले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मेयरले गरे अधिकृतको काज फिर्ता सिफारिस” शीर्षकको समाचार छापिएको छ । पाँचथरको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ र प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्यबिचको द्धन्द्ध चुलिदै गएको छ । आर्थिक वर्ष सकिने मिति नजिकिदैँ गर्दा भइरहेको द्धन्द्धले नगरको विकास निर्माण तथा बजेट कार्यान्वयनमै समस्या उत्पन्न भएको छ । मेयर नेम्वाङले प्रमुख प्रशासकीय अधिकृत उपाध्यको काज फिर्ताका लागि सिफारिस गरेका छन् । मेयर नेम्वाङले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै काज फिर्ताको सिफारिस गरेका हुन् । पत्र प्राप्त हुनासाथ संघीय मामिला मन्त्रालयमा हाजिर भई जान भन्दै उपाध्यलाई बोधार्थ दिइएको छ ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “ट्याक्टरले किच्दा मृत्यु” शीर्षकको अर्को पनि समाचार छापिएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ फूलबारीमा ट्याक्टरले किच्दा स्थानीय १५ वर्षीय युवक फिरोज प्रधानको मृत्यु भएको छ । तमोर खोलाबाट बालुवा लिएर फूलबारीतर्फ जाँदै गरेको ना ४ त ५९२२ नम्बरको ट्याक्टरले किच्दा फिरोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । प्रहरीले ट्याक्टर चालक २४ वर्षीय प्रकाश शेर्पालाई नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सपथलगत्तै मन्त्रालयको प्रगति माग” शीर्षकको समाचार छापिएको छ । प्रदेशसभाका सातवटै विषयगत समितिका सभापतिहरुले सपथ लिएकै दिन सम्बन्धित मन्त्रालयहरुसंग कामको प्रगति मागेका छन् । आफ्नो आफ्नो कार्यकक्षमा कार्यभार सम्हालेका विषयगत समितिका सभापतिहरुले समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालयको अहिलेसम्मको कार्यप्रगति माग्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । ६ वटा विषयगत समितिको सभापतिमा सत्तारुढ नेकपाका सांसदले र एउटा समितिको नेतृत्व प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गरेको छ । सातै जनाले सभापति चयन भएलगत्तै गरेको पहिलो निर्णयमा मन्त्रालयसंग प्रगति विवरण माग्ने कुरा उल्लेख छ ।