दमक: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आउने भएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दमक आउने भएका हुन् । आगामी बैशाख ९ गते भवन उद्घाटन कार्यक्रम छ । उक्त कार्यक्रममा सहभागी हुन देउवासहितका केन्द्रीय नेताहरु दमक आउने भएका हुन् । दमक ५ स्थित दमक नगर पार्टी कार्यालयसंगै क्षेत्रीय समितिको कार्यालय भवन करिव ५ वर्षपछि हालै निर्माण सम्पन्न भएको छ । एकतले चार कोठे पक्की पार्टी कार्यालय भवन करीब ३३ लाख रुपैयाको लागतमा निर्माण भएको पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।

पार्टी कार्यकर्ताहरुको सरसहयोगवाट सो भवन निर्माण भएको सभापति भण्डारीले बताए । भवन निर्माण गर्न तत्कालीन क्षेत्रीय सभापति शेरवहादुर भट्टराईको एक निर्माण समिति गठन गरिएको थियो । उनका अनुसार भवन उद्घाटन कार्यक्रममा पार्टीका सभापतिसहित महामन्त्री डाक्टर शंसाक कोइराला, पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकास शर्मा, अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बे ,अनुशासन समितिका सदस्य धनराज गुरुङ्ग, चन्द्र भण्डारीलगायतका नेताहरु आउने भएका छन् । पार्टी कार्यालय भवन उद्घाटनका क्रममा पार्टीलाई विभिन्न क्षेत्रमा योगदान पुरयाँउने एक दर्जन अग्रजलाई सम्मान समेत गरिने निर्णय भएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताएका छन् ।

यसैगरि कांग्रेस दमक नगर समितिले प्रकाशन गरेको नयाँ वर्ष २०७६ को क्यालेण्डर समेत विमोचन गर्न पार्टी केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल पनि दमक आउने भएका छन् । यहि चैत २६ गते तय गरिएको क्यालेण्डर विमोचन कार्यक्रममा सहभागि हुन नेता पौडेल दमक आउने भएका पार्टीका नगर सहसचिव दिपेश दाहालले वताएका छन् । आफना सांगाठानिक गतिविधिहरुलाई समेटेर पार्टीले वर्षेनी क्यालेण्डर प्रकाशन गरिआएको नगर सभापति रोशन विष्टले जनाए ।