धरान: मंगलबार दिउँसो धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरानतर्फ आउदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी घाइते हुने यात्रुको संख्या ५० पुगेको छ । उक्त दुर्घटनामा पनि मंगलबार चालक र ५ महिने नाबालिकासहित ४ जनाको ज्यान गएको थियो ।

केही घाइतेहरुको उपचार धरानको निजी अस्पताल विजयपुर हस्पिटलमा पनि उपचार भइरहेकोले हिजो कति घाइते भयो भन्ने तथ्यांक प्रष्ट हुन सकेको थिएन । आज बिहानसम्म भने घाइतेहरु सबै वीपी प्रतिष्ठानमा पुगेको र संख्या पनि यकिन भएको प्रतिष्ठानको आकस्मिक कक्षस्थित प्रहरी बिटका इञ्चार्ज एवं सई दुर्गा पराजुलीले जानकारी दिए । ‘गम्भीर घाइते, सामान्य घाइते सबैको संख्या ५० पुगेको छ,’सई पराजुलीले भने । घाइते ५० जना मध्ये अहिले प्रतिष्ठानमा मात्र १५ जना उपचार गराइरहेका छन् । बाँकी ३५ जना डिस्चार्ज भइसकेको छ ।

आइसियु र पिआइसियुमा ३ जनाको उपचार

प्रतिष्ठानमा उपचाररत १५ जना मध्ये पनि एक बालिकासहित ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई प्रतिष्ठानको आइसियु र पिआइसियुमा राखेर उपचार गरिरहेको सई पराजुलीले बताए । पिआइसियुमा उपचार भइरहेका घाइते केराबारी २ की ८ बर्षीय भुमिका लिम्बू हुन् । यस्तै, मुढेबास २, धनकुटाकी ३५ बर्षीय हंसमाया मगरको आइसियु र धनकुटा ४ का ६० बर्षीय नरबहादुर परियारको सर्जिकल आइसियुमा उपचार भइरहेको छन् ।

हाडजोर्नीमा ४ जना

accidente

यस्तै, हाड भाँचिएका करोबारी २ का २८ बर्षीय हस्तमाया लिम्बू, साँगुरीगढी ६ की ५९ बर्षीय धनमाया बिक र चौबिसे गाउँपालिका २ का ४० बर्षीय टंकबहादुर लिम्बूको हाडजोर्नी वार्डमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य खतरा मुक्त रहेको सई पराजुलीले बताए । यस्तै, प्रेमकुमार मगरको पनि हाडजोर्नीको अब्जरवेशनमा उपचार भइरहेको छ ।

बच्चा वार्डमा पनि ३ जना

प्रतिष्ठानको बच्चा वार्डमा ३ जना घाइतेको उपचार भइरहेको छ । प्रतिष्ठानस्थित प्रहरी बिटमा अनुसार केराबारी २ की ११ बर्षीय अञ्जना तामाङ, धनकुटाको फाक्चामाराकी २ बर्षीय निमाबुङ लिम्बू र चौबिसे १, बुधबारेकी ५ बर्षीय रेजिका राईको बच्चा वार्डमा उपचार भइरहेको छ ।

आकस्मिक कक्षमा ५ जना

प्रतिष्ठानको आकस्मिक कक्षमा ५ जना छन् । ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको सई पराजुलीले जानकारी दिए । उनका अनुसार चौबिसेका पदम राई, धरान १३ की टिकामाया खत्री, ६ नं बुधबारेका ६० बर्षीय सन्तबहादुर गजमेर, ५० बर्षकी विष्णुमाया गजमेर र इटहरीका तरनारायण गच्छदार छन् । यी मध्ये टिकामायाको अवस्था गम्भीर छ । अरुको अवस्थामा सुधार हुदै सामान्य बन्दै गएकोले केहीको डिस्चार्ज हुने सम्भावना रहेको उनले बताए ।