इटहरी :प्रखर वक्ता एवम् मनोक्रान्तिका अभियन्ता डा. योगी विकाशानन्दले मानिससँग थुप्रै अवसर रहेको भएपनि त्यसलाई प्रयोग गर्ने आईडिया नभएको बताएका छन् ।

एभरेष्ट पोलिसी इन्सिच्युट इटहरीको आयोजनामा यात्रा उद्यमीको नामक मासिक कार्यक्रममा मंगलबार बोल्दै उनले मानिसले अवसर भएपनि त्यसलाई प्रयोग गर्न नजानेको बताएका हुन् । ‘हामीसँग अवसर अत्यन्त धेरै छ, घर–दैलोमा अवसर छ तर हामीसँग त्यसलाई प्रयोग गर्ने आईडियाको कमी छ,’उनले भने,‘काम नभएकालाई कामै छैन, काम भएकालाई फुर्सदै छैन ।’ उनले आफू दुःखी भए घर परिवार र समाज दुःखी हुने, आफू खुशी भए घर परिवार र समाज खुशी हुने भएकाले जुनै र जस्तोसुकै परिस्थितिमा पनि खुशी हुनुपर्ने बताए । ‘खुशी हुनका लागि पैसो चाहिँदैन, त्यो त तपाईँको विचारले हुने हो,’उनले भने,‘तपाईको जीवन बाहिर झलमल्ल र भित्र अलमल्ल भयो भने के काम ?’

उनी अधिक समय मानिसको व्यावहारिक ज्ञानमा केन्द्रीत रहे । मानिसले हरेक दिन ९ देखि १० बजेभित्र सुत्नुपर्ने र विहान ४ देखि ५ बजेभित्र उठेर ध्यान गरेमा क्यान्सर लगायतका रोगबाट छुटकारा पाईने बताए । ‘मानिसको दिमाग उठेको बेला भन्दा पनि सुतेको बेला क्रियाशिल हुन्छ,’उनले भने,‘जसको निद्रा खराब हुन्छ, उसको दिमाख खराब हुन्छ । जसको दिमाख खराब हुन्छ उसको जीवन खराब हुन्छ ।’

मानिसले जीवन जिउँन नजानेका कारण असफल हुने र असफल हुँदा पीडा हुने बताउँदै सफल हुँदा पनि खुशी नहुनुले एक्ससाईजमा समय छुट्याउनुपर्नेमा जोड दिए । धेरै चिजको इच्छा गर्दा इच्छाशक्ति नहुने बताउँदै उनले एउटै भिजनले मात्र पनि मानिस सफल नहुने उल्लेख गरे । ‘जहाँ अवसर हुन्छ, त्यहाँ समस्या हुन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ अवसर हुन्छ,’उनले भने । पछिल्लो समय बेरोजगारीमा छटपटिरहेका युवाहरुलाई इङ्गित गर्दै जागीर नहुनु समस्या रहेपनि त्यसलाई ठूलो अवसरका रुपमा लिनुपर्ने बताए । उनले भने,‘तपाईँले बीस हजारको जागिरमा जीन्दगी लिलाम गर्नुहुन्छ भने बाँचुन्जेलमा के गर्नुहुन्छ ?’

मेहनतले मान्छे महान नहुने र स्मार्ट मेहनतले मात्रै मानिस महान हुने उनले बताए । ‘हुँदैन र असम्भव भन्ने कुरा केही छैन,’उनले भने,‘मान्छे सबैभन्दा उद्यमशील खुशी भएको बेला गर्न सक्छ ।’ विकाशानन्दले मानिसलाई कसैले खुशी र दुःखी बनाउने तागत नरहेकाले आफ्नो बिचारले खुशी र दुःखी हुने बताए । ‘हामी सफल हुन पनि खोज्छौँ, त्याग पनि गर्न खोज्दैनौँ,’ उनले भने । उनले सफल हुनका लागि त्याग गर्नु आवश्यक रहेको बताए । रिवाज आचार्यको संयोजकत्वमा सम्पन्न कार्यक्रममा एभरेष्ट पोलिसि इन्सिच्युटका प्रबन्ध निर्देशक सम्राट थापाले युवाहरुको सक्रियतामा आँफूहरु उद्यमी बन्ने लक्ष्यमा रहेको बताए । उनले भने,‘हामी अरु भन्दा केही फरक काम गरौँ भन्ने पक्षमा छौँ, किनकि हामी अरु जस्तो हैन, हामी आँफैजस्तो हुने हो ।’