ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इन्धन माग्नेदेखि मापसेसम्म” शीर्षकको समाचार छापिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले आफु मातहत रहेको प्रहरी कार्यालयमा छड्के अनुगमनमा निस्किए । अनुगमनको क्रममा सेवाग्राहीसंग इनधन माग्नेदेखिको ड्युटीको समयमा मादकपदार्थ सेवन मापसे गर्नेसम्म फेला पारे । प्रहरी प्रधान कार्यालयको नीति अनुरुप पेशागत मर्यादा र आचरण विपरीत कार्य गर्ने प्रहरी जवानदेखिको असइसम्मका चारजना प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याएका छन् । पेशा र आचरण विपरीत कार्य गर्ने असई, हवल्दार र २ जना प्रहरी जवानलाई कारबाहीमा परेको मोरङ प्रहरीले मङगलबार नामावली नै सार्वजनिक गरेको छ । एक साताको अवधिमा मोरङका विभिन्न स्थानमा रहेका प्रहरी युनिटको अनुगमन गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “२१ थान पासपोर्ट बोक्ने एजेण्ट पक्राउ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । वैदेशिक रोजगारमा पठाइदिने भन्दै विभिन्न मेनपावर कम्पनीका एजेण्ट अर्थात् दलालहरु इजाजतबिनै पासपोर्ट बोकेर ठगि गरिरहेका छन् । ग्रामीणभेगका मानिसहरुलाई विभिन्न प्रलोभन देखाउँदै इजाजतबिनै २१ थन पासपोर्ट बोकेर हिड्ने दलाललाई प्रहरीले पक्राउ गरेको छ । अहिले दैनिकजसो दलालको ठगीमा पर्ने गरेको उजुरी श्रम तथा रोजगार कार्यालय विराटनगरमा आइरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीले मोरङ बूढीगंगा गाउँपालिका ६ का ५५ वर्षीय रत्नकुमार लिम्बुलाई ििवभिन्न व्यक्तिका २१ थन पासपोर्ट बोकेको अभियोगमा पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इटहरी प्रहरीले मङ्गलबार विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा बुझाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “५८ करोडमा ठेक्का लाग्यो इलाम खानेपानीमा” शीर्षकको समाचार छापिएको छ । आउँदो २० वर्षसम्म पुग्नेगरी सदरमुकाममा ल्याउन लागिएको सहरी खानेपानी आयोजना ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको छ । कुल लागतको २१.४ प्रतिशत न्यून खर्च (बिलो) मा रमण कन्स्ट्रक्सन कम्पनीले आयोजना निर्माण गर्नेगरी ठेक्का सम्झौतासमेत भएको हो । आउँदो २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी एसियाली विकास बैंक –एडिबी) आयोजना उपभोक्ता समिति र निर्माण कम्पनीबीच सम्झौता भएको छ । कुल ८३ करोड ६८ लाख रुपैयाँ लागत रहेकोमा प्रशासनिकलगायत सबै कटाउँदा आयोजनाको बजेट ७२ करोड ७६ लाख रुपैयाँमा सीमित भएको थियो ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “चिया बगान खुलाउन मेचीनगरको पहल” शीर्षकको अर्को समाचार पनि छापिएको छ । बन्द रहेका चिया बगान खुलाउन मेचीनगर नगरपालिकाले पहल थालेको छ । श्रम ऐन अनुसार तलब नपाएको भनेर मजदुरले चैत १७ देखि आन्दोलन थालेका हुन् । श्रम ऐन २०७५, सामाजिक सुरक्षा ऐन २०७५ सरकारले तोकेको चिया श्रमिकहरुको न्यूनतम ३ सय ८५ रुपैयाँ २०७५ साउन १ गतेदेखि नै कार्यान्वयन हुनुपर्ने माग राख्दै चिया मजदुर सडकमा उत्रिएका थिए । स्थानीय सरकारले छलफलका माध्यमबाट समस्या समाधानको पहल थालेको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “कार्यक्षेत्रबारे अन्योल” शीर्षकको समाचार छापिएको छ । प्रदेशसभाको अर्थ समितिलाई आफ्नो कार्यक्षेत्रबारे अन्योल भएको छ । प्रदेश १ को प्रदेशसभा नियमावली २०७५ को नियम १३१ ले विषयगत समितिहरु गठन गर्ने व्यवस्था गरे अनुसार सातवटा विषयगत समितिले सभापति पाइसकेका छन् । सभापति पाएका विषयगत समितिहरु मध्ये मंगलबार बसेको अर्थ समितिको बैठकमा समितिका सदस्य सांसदहरुले कार्यक्षेत्रबारे अन्योल भएको बताए । सभापतिको चयनपछि बसेको अर्थ समितिको पहिलो बैठकमा कार्यक्षेत्रको अन्योल भएको हो ।