धरान : चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्स बिरुद्धको खेलमा सानदार जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा चेन्नईले कोलकतामाथि ७ विकेटको सहज जित निकाल्दै चेन्नाई शिर्ष स्थानमा उक्लिएको हो । १०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले १७.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । चेन्नईको जितमा फाफ् डु प्लेसिसले अविजित ४३ रन बनाए । त्यस्तै, आम्बती रयडुले २१ रन बनाउँदा शेन वाटसनले १७ रनको योगदान दिए । बलिङतर्फ कोलकताका सुनील नारिनेले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकताका अग्रपंक्तिका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । कोलकताका आन्द्रे रुसेलले पारी उकास्ने कोशिस गरेका थिए । उनले ४४ बलमा अविजित ५० रन बनाएका थिए ।

बलिङतर्फ दीपक चाहरले तीन विकेट लिए । त्यस्तै, हर्भजन सिंह र इमरान ताहिरले समान २–२ विकेट लिए । जितसँगै चेन्नाई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईले ६ खेलबाट पाँच खेलमा जित र एक खेलमा हार ब्यहोर्दै लिगको शीर्ष स्थानमा पुगेको हो। त्यस्तै पराजित कोलकत्ता लिगको दोस्रो स्थानमा छ । उसको ८ अंक छ ।