धरान: धरान फेसेनेवल सहर हो । यहाँका युवायुवतीहरु स्टाइलिष्ट छन् । फेशनमा मात्र होइन, साथीभाईसँग रमाइलो एवं मस्ती गर्न पनि अगाडि नै छन् ।

त्यसो भन्दैमा के तपाई धराने युवती एवं किसोरीहरुसँग जिस्कने मुडमा हुनुहुन्छ ? वा जिस्काउन खोज्दै हुनुहुन्छ ? त्यस्तो मुड बनाउनु भएको छ भने होसियार हुनुस् है । धरानका किसोरीहरु अहिले धमाधम तेक्वान्दोको ट्रिकहरु सिक्दैछन् । तपाईले जिस्काउने किसोरी तिनै मध्ये पर्न सक्छन्, र तपाईले मजाले मुक्का वा लात भेट्न सक्नुहुन्छ । पत्यार नलागे तस्बिर हेर्नुस् त ।

IMG_20190408_124619

अहिले धरानका सय जना बालिका एवं किसोरीहरु धरान १३ अमरहाटस्थित अमर सेवा समाजको कभर्ड हलमा आत्मरक्षा तालिम लिइरहेका छन् । बालिका तथा किसोरीहरुमाथि हुने यौन दुव्र्यवहार तथा बलात्कारजस्ता घटनाहरुबाट जोगाउनको लागि उनीहरुलाई यो तालिम दिइएको हो । धरान उपमहानगरपालिकाको लै गिक समानता तथा सामाजिक समावेशीकरण(जेसि) उपशाखाले आयोजना गरेको तालिममा धरानका २० वटै वडाबाट ९० जना बालिका तथा किसोरीहरु सहभागी भएको जेसि प्रमुख हेमा थलङ लिम्बूले बताइन् ।

जेसि प्रमुख लिम्बूका अनुसार ५ दिने तालिम सोमबारदेखि शुरु भएको हो । तालिममा सकरात्मक सोच, लैगिक हिंसा सचेतना, लागुऔषध र त्यसबाट हुने असर, प्रजनन स्वास्थ्य, व्यक्तित्व विकासलगायत विविध बिषयको प्रशिक्षण दिइनेछ । तर, ५ दिनमा बढी केन्द्रीत भने तेक्वान्दोको प्रयोगात्मक कक्षामा हुने उनले बताइन् । ‘बालिका, किसोरीहरुमाथि बलात्कार, यौनजन्य हिंसाको घटनाहरु भइरहेको छ, त्यस्तो बेला उनीहरुले आत्मरक्षा गर्न सकुन्, भौतिकरुपमा प्रतिकार गर्न कसोस् भनेर यो तालिम दिइएको हो,’जेसि प्रमुख थलङले भनिन् ।

IMG_20190408_124830

सामाजिक अभियन्ता शुभेच्छा अधिकारीका अनुसार यो तालिमले बालिका एवं किसोरीहरुमा आत्मविश्वास बढाउछ । आत्मविश्वास छ भने एक्लै हिड्न सहज हुन्छ । उनले भनिन्,‘तेक्वान्दोको ट्रिक सिकेको छ भने प्रतिकार गर्नसक्छु भन्ने आत्मवल, हिम्मत हुन्छ । नकरात्मक सोच पालेका केटाहरु पनि त्यस्तोसँग डराउछन् ।’ बिहान १० देखि ४ बजेसम्म तेक्वान्दो प्रशिक्षक गोपाल राईसहितको टिमले प्रयोगात्मकरुपमा प्रशिक्षण दिइरहेका छन् भने सम्बन्धित बिषयका विज्ञहरुबाट पनि अन्य प्रशिक्षण भइरहेको छ ।

IMG_20190408_124821 IMG_20190408_124651