धरान: सोमबार दिउँसो धरान १३, जिरो पोइन्टमा भएको सडक दुर्घटनामा ४ जनाको ज्यान गयो भने ४ दर्जन बढी घाइते भए । ना ६ ख २७१३ नम्बरको बसका चालक, एक वृद्धसँगै केराबारी गाउँपालिका ५ महिने दुधे बालिका र उनकी आमाको पनि ज्यान गयो ।

मृतकमध्ये आमा छोरी मोरङको केराबारी गाउँपालिकाकी यमकुमारी मगर र उनकी दुधे छोरी डिना मगर थिइन् । उनीहरु माइती गाउँ धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबासबाट घर फर्किदै थिए । उनीहरुसँगै जेठी छोरी करिब साढे तीन बर्षकी सारा मगर पनि त्यही गाडीमा थिइन् । उनी भने भाग्यले बचिन् तर, आमा र बहिनी गुमाइन् ।

केराबारी गाउँपालिका वडा नं ९ का वडा सदस्य एवं मृतकका छिमेकी दोर्णकुमार थापा मगरका अनुसार माइती घरबाट फर्कदै गरेकी यमकुमारी र कान्छी छोरी अगाडिको सिटमा बसेका थिए । जेठी छोरी पनि सँगै फर्कदै गरेपनि उनलाई आफन्तले आफुसँगै पछाडितिरको सिटमा राखेको थियो । त्यसैले बस दुर्घटना हुदा जेठी छोरी सारा गम्भीर घाइते भइनन् । उनी भाग्यले बचिन्, तर उनको दुर्भाग्य के भयो भने अगाडि सिटमा बसेकी आमा र बहिनीको ज्यान गयो । ‘उनी बाँच्न सफल भइन्, तर आमा र बहिनी बच्न सकेनन्,’दुःख प्रकट गर्दै वडा सदस्य मगरले भने,‘उनलाई गाला, घाटीतिर चोट छ, तर सामान्य नै छ ।’

saru-magar

बालिका सारा अहिले हजुरआमासँग केराबारी घरमा नै रहेको वडा सदस्य मगरले बताए । उनको बुबा पोल्याण्डमा र हजुरबुबा कुवेतबाट आउने क्रममा छन् । मृतक यमकुमारी र डिनाको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा नै राखिएको छ । ‘उहाँहरुले नै हामी नआएसम्म केही नगर्नु भनेकोले शव धरानमै राखेका छौ, उहाँहरु भोलीसम्ममा आइपुग्छन्,’वडा सदस्य मगरले भने ।