मोरङ:मोरङको लेटाङ ३ मा एक ७० बर्षीया दलित वृद्धा महिलालाई छिमेकीले कुटपिट गरेर गम्भीर घाइते बनाएको घटना सार्वजनिक भएको छ ।
घाइते वृद्धा भीमा रसाइलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वृद्धामाथि कुटपिटको घटना करिब एक सातापछि मात्र सार्वजनिक भएको हो । उनलाई छिमेकी आमा छोरीद्धय ५० बर्षीय तारादेवी श्रेष्ठ र २७ बर्षीय रेणुका श्रेष्ठले चैत २० गते साँझ कुटपिट गरेका थिए । आफ्नो नातीलाई कुटेको भन्दै उनीहरुले भीमालाई निर्घात पिटेको पीडितका भाई दिपेन्द्रको भनाई छ । एक सातासम्म गुपचुप राखिएको घटना पीडकले औषधी उपचार पनि नगर्ने र माफी पनि नमाग्ने अडान लिएपछि मात्र सार्वजनिक भएको हो ।
गाउँ समाजमा छिमेकीबीचको घटना भएकोले आपसमा मिल्नुपर्छ भन्दै दबाब दिएपछि पीडित पक्ष पनि चुपचाप बसेका थिए । मिलापत्र गराउने क्रममा कुटपिट गर्ने आमाछोरीले कानुनी कारबाही भोग्न तयार छौ भन्दै उपचार पनि नगर्ने र माफी पनि नमाग्ने भनेपछि पीडित पक्षले घटना सार्वजनिक गरेका हुन् । पीडितका भाई दिपेन्द्रका अनुसार भीमाको आँखा, टाउको, छाती, ढाडलगायत शरीरको विभिन्न स्थानमा चोट लागेको छ । नातीलाई कुटेको भन्दै आमा छोरी आएर एक्कासी जथाभावी लात, मुड्कीले कुटपिट गर्न थालेपछि वृद्धा गम्भीर भएकी थिइन् । प्रहरीले भने आमा छोरी दुवैलाई नियन्त्रणमा लिएर राखेको छ । इलाका प्रहरी कार्यालय लेटाङका अनुसार कुटपिटमा संलग्नलाई कानुन वमोजिम कारबाही अघि बढ्ने बताए ।
तस्बिर सौजन्य:वेतना दैनिक