धरान: दाउफिन्स एफसि क्यामरुनले आज सम्पन्न चौथो अन्तरराष्टिय आमन्त्रण भरौल गोल्डकप जित्दै जारी सिजनमा उपाधि यात्रा टुंग्याएको छ ।

भरौल गोल्डकपको फाइनलमा बुधबार दाउफिन्सले रेड हर्ष क्लब इलामलाई पराजित गर्यो । रेड हर्ष प्रतियोगिताको साविक विजेता पनि हो । तर, दाउफिन्सको अघि रेड हर्ष फाइनलमा निरिह बन्यो । सुनसरीको बराहक्षेत्र नगरपालिका ५, कलाबञ्जारस्थित ज.डे.ज.खेलमैदानमा दाउफिन्सले रेड हर्षलाई ४–० गोलअन्तरले हरायो ।

अघिल्लो बर्षसम्म नामै नसुनिएको र क्यामरुनमा पनि नभएको यो क्लबले जारी सिजनमा नेपालमा भने सनसनी मच्चाएको छ । आज बुधबार भरौल गोल्डकपसहित यो सिजनमा दाउफिन्सले नेपाली भुमीमा ६ उपाधि जितेको छ । दाउफिन्सले यसअघि मनकामना पोखरा कप, बुढासुब्बा गोल्डकप, तिलोत्तमा गोल्डकप, माइभ्याली गोल्डकप र केही दिनअघि दुहबी गोल्डकप जितेको थियो । क्यामरुनका खेलाडीहरु मिलेर यो क्लबले यो सिजनमा नेपाली नकआउट फुटबल खेल्न थालेको थियो । यो क्लबको सहभागिताले अन्र्तराष्ट्रिय क्लबको उपस्थिति जनाउने भएकोले पनि हरेक ठुला धनराशीको प्रतियोगितामा यो क्लबको सहभागिता अनिवार्य जस्तै बन्यो । दाउफिन्सले पनि थुप्रै प्रतियोगिताहरुमा नेपाली फुटबलको महारथी भनिएको क्लबहरुलाई हराउदै उपाधि पनि जित्यो । 

 बुधबार फाइनलमा दाउफिन्सका टिना टिनाले पहिलो हाफको ३ मिनेटमै गोल गरे भने अनगुइने जेआरले ६ मिनेटमा गोल गरे । पेटेङ्गाले पहिलो हाफको २६ औं र दोस्रो हाफको चौथो मिनेटमा २ गोल गर्दै दाउफिन्सको जित सुनिश्चित गरे । दाउफिन्सले ट्रफीसहित नगद ३ लाख हात जित्यो भने उपविजेता रेड हर्षले एक लाख ५० हजार मात्र हात पार्यो ।  

bharaul-goldcup-finall6

फाइनलको म्यान अफ दि म्याच दाउफिन्सकै अहन्दाले नगद ५ हजार थापे भने भरौल गोल्डकपको सर्वोत्कृष्ट खेलाडी दाउफिन्सका अनगुइने जे.आर.घोषित हुदै नगद २५ हजार पाए । दाउफिन्सकै पेटेङ्गाले हाइ स्कोरर वापत पुरस्कार नगद १० हजार पाए भने बराह ट्रेनिङ सेन्टरका खेलाडीद्धय मुकेश बोगटी र उमेश चौधरीले क्रमशः उदयीमान खेलाडी र मेहनती तथा अनुशासित खेलाडीको पुरस्कार जनही नगद ५ हजार पाए । खेलाडीहरुलाई आयोजक न्यू स्टार क्लबका अध्यक्ष भेषराज कार्की, प्रमुख अतिथि एवं नेकपाका नेता एवं प्रदेश सांसद भिमप्रसाद आचार्य, बिशेष अतिथि एवं बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, वडा नं ५ का अध्यक्ष आशाराम चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

तस्बिर सौजन्य: प्रदीप चौधरी