ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अस्त–व्यस्त कुम्भमेला” शीर्षकको समाचार छापिएको छ । प्राचिन हरिद्धार चतराधाममा शुरु भएको दोश्रो पिण्डेश्वर अर्धकुम्भमेला हप्ता नलाग्दै अस्तव्यस्त बन्न थालेको छ । मेला मूल आयोजक समिति र उपसमितिहरुले ध्यान नदिदा कुम्भको व्यवस्थापनमा लथालिंग हुन थालेको हो । मेलामा कतै खानेपानी छैन त कतै शौचालय अभाव छ । मेलामा होटल सञ्चालन गरिरहेका दिनेश साह समितिसंगै ३ हजार ५ सयदेखि ७ हजार ५ सयसम्म तिरेर होटल सञ्चालन गरे पनि पानी र शौचालयको सुविधा नदिइएको बताउँछन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मोरङ–सुनसरीका १२ स्थानीय तह समेटिदै” शीर्षकको समाचार छापिएको छ । मोरङ र सुनसरीका १२ स्थानीय तह समेटेर वृहत विराट क्षेत्र बन्ने भएको छ । प्रदेश १ को स्थायी राजधानी बनाउने लक्ष्यसहित प्रदेश सरकारले अघि सारेको यो अवधारणा अब संसद्मा विधेयककै रुपमा पेश हुने भएको छ । बुधबार प्रदेश मन्त्रिपरिषद् बैठकले बृहत् विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा लैजाने स्वीकृती दिएको छ । मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयले निर्माण गरेको विधेयक अनुसार बृहत् विराट क्षेत्रमा विराटनगर महानगरसहित आसपासका स्थानीय तहहरु समेटीनेछन् । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार विराटनगरसहित ग्रामथान, कटहरी, सुन्दरहरैचा, इटहरी, धरान, बुढीगंगा, दुहबी, गढी, रामधुनी भासी, बर्जु, इनरुवालगायतका स्थानीय तहहरु बृहत विराट क्षेत्रमा समेटिनेछन् ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “भोजपुरमा श्रीमतीको हत्या” शीर्षकको अर्को समाचार पनि छापिएको छ । भोजपुरमा घाँटी रेटेर एक युवाले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको पूर्वी पोवादुङ्मा गाउँपालिका वडा नं. ४ बस्तिमा १९ वर्षीय जानुका पौडेल थापालाई उनकै श्रीमान रमेश पौडेलले घाँटीमा धारिलो हतियार प्रयषेग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सामान्य विवादमा रमेशले घरमै श्रीमतीको हत्या हत्या गरेका हुन् । श्रीमती हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । घटनाको विस्तृत अनुसन्धान बाँकी रहेको भोजपुरको प्रहरी प्रमुख केशवकुमार थवेले बताए । पोडेल दम्पतीको २ महिनाको छोरा बताइएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “एम्बुलेन्स चालक पक्राउ” शीर्षकको समाचार छापिएको छ । सम्वेदनशील सेवाको रुपमा मानिने एम्बुलेनसका चालक नै मादक पदार्थ सेवन गरेको पाइएपछि ट्राफिक प्रहरीले उनलाई पक्राउ गरेको छ । सुनसरीको इनरुवा १ का २५ वर्षीय गोविन्द मण्डलले को १ च ६४०९ नम्बरको एम्बुलेन्स चलाइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले बताए । उनको मंगलबार राति विराटनगर ७ स्थित अस्पताल चोकमा मापसे गरेर एम्बुलेनस चलाइरहेको पाइएपछि पक्राउ गरी मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार कारबाही भैरहेको छ ।