पथरी : पौराणीक कालमा राजा विराटको दरवारका गाईहरुलाई पानी खुवाउने पोखरीका रुपमा प्रख्यात मोरङको कानेपोखरी उचित संरक्षणको अभावमा संकटमा परेको छ ।

कानेपोखरी गाँउपालिकाको ७ नम्वर वडामा रहेको पोखरी संरक्षण नहुँदा पोखरीको पानी समेत सुक्न थालेको छ । संरक्षण अभावमा संकटमा परेको कानेपोखरी संरक्षणका लागी पछिल्लो समय स्थानीय सामुदायिक वनले पहल थालेपनि कानेपोखरीको पुरानो स्वरुपमा ल्याउन नसकेको स्थानियवासी बताउँछन् । स्थानियबासी नविन झोडालीका अनुसार प्रकृतीक रुपमा प्राप्त गरेको सम्पदालाई उचित संरक्षण गर्न नसक्दा यसको महिमा अन्य तिर पु¥याउन नसकिएको हो । ‘पोखरी वरिपरि झारले घेरेको छ पोखरीको जग्गापनि अतिक्रमण भएको छ’ झोडालीले भने, ‘यस पोखरीको उचित प्रचार गर्न सके आन्तरीक पर्यटनमा धेरै योगदान हुन सक्छ’ उनले भने । धिमाल जातीको उत्पती स्थल राजारानीबाट मधेस झर्ने धिमालहरुले खाजा खान यहि पोखरीको डिल प्रयोग गर्ने र खाने पोखरी हँुदै अपभ्रस भइ कानेपोखरी नाम रहन गएको किंवदन्ती रहेको छ ।

kANEPOKHARI

धिमाल भाषामा वकुल्लालाई काने भनिने गरेको र वकुल्ला वस्ने पोखरी भएकाले काने पोखरी नाम रहन गएको केहि अग्रजहरु बताउछन् । मान्छेको कानको आकारमा रहेकाले पनि यस पोखरीलाई काने पोखरी भन्ने गरिएको बताइन्छ । हाल पोखरी क्षेत्रमा घिमाल जातीको महाराज थान रहेको छ । धिमाल जातीको सो थानमा वैसाख जेठमा जात्री पर्वको अवसरमा मेला समेत लाग्ने गरेको छ । करिव १० कट्ठा जग्गामा फैलिएको पोखरी पुर्व पश्चिम राजमार्गको कानेपोखरी चौकबाट १०० मिटर दक्षिणमा रहेको छ । कानेपोखरी गाँउपालिका र चौकको नाम पनि यसै पोखरीका नामबाट राखीएको स्थानिय पत्रकार भोला भट्टराई बताए । ६ वर्ष अघि पोखरीको संरक्षण गर्न पोखरी सफाइ गर्ने क्रममा आधा केजी बराबरको धनुष तिर भेटीएपछि यो पोखरी पुरानो भएको अनुमान स्थानियबासीले गरेका हुन् । सो तिर हाल स्थानीय ग्रामिण सुधार सामुदायिक वनमा संरक्षण गरि राखीएको छ । ग्रामिण सुधार सामुदायीक वनले नै हाल पोखरीको संरक्षण गर्दै आएको छ । कानेपोखरीमा हाल छेकावार गरिएको छ ।
कानेपोखरी पोखरी संरक्षण गर्न समिती नै गठन गरेर यसको संरक्षण थालिएको संरक्षण समितिका अध्यक्ष नवीन राइले बताए । राईका अनुसार गत बर्ष कानेपोखरी गाउपालीकाले पोखरी संरक्षण गर्न १५ लाख रुपैयाँ छुट्याइएको भए पनि प्राबिधिकले इस्टीमेट नबनाउँदा रकम फ्रीज भएको उनले बताए । यश बर्ष पनि राष्ट्रपती चुरे संरक्षण कार्यक्रम अन्तरगत १५ लाख बिनियोजन भएको र संरक्षणका लागि पहल थालिएको राइले बताए ।

हिउँद महिना देखी वर्षा नलागुन्जेल सम्म पोखरीमा पानी सुक्ने गरेका छ । पोखरीदेखी १ किलोमिटर दक्षिणमा रहेको भलुवा सिमसार र कानेपोखरी बिच पिकनिक स्पोर्ट बनाएर आन्तरिक पर्यटकको गन्तव्य स्थान बनाउन सकिने पत्रकार भट्टराई बताए ।