मोरङ:पूर्व राजा ज्ञानेन्द्र शाह पुर्व भ्रमणमा आउदा प्रयोग हुने कारले मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको खुलेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका ४ स्थित बुधवारे चोकमा बुधवार राती पुर्वपश्चिम राजमार्गबाट पश्चिमतर्फ जादै गरेको को बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई राती करिब ९ बजे ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाईकल चालक ईटहरी उपमहानगरपालिका ८ का २२ बर्षीय प्रकाश चौधरी र मोटरसाईकलको पछाडी सवार २२ बर्षीय हेम चौधरी गम्भीर घाइते भएका थिए । दुवैलाई नोबेल अस्पताल बिराटनगरमा उपचारको लागि पठाईएकोमा पछाडि सवार हेमको उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार ज्ञानेन्द्र शाहको सुरक्षामा प्रयोग हुने गरेको बताइएको छ । यद्यपी, यो बिषयमा प्रहरी अधिकारीहरुले मुख खोलेका छैनन् । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले कारको ठक्करले एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेपनि कार चालकको बारेमा खुलाएको छैन । प्रहरीले पुर्वबाट पश्चिम जादै गरेको अवस्थामा कारले ठक्कर दिएको भनेको छ । तर, उक्त कार पुर्वराजा शाहलाई विराटनगर विमानस्थलसम्म पुर्याएर फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ ।

तस्बिर स्रोत:नागरिकन्यूज