धरान:निजी विद्यालयसँग कमिशनमा मिलेमतो गरेर विद्यालयको नाम प्रिन्ट गरेर कपी छाप्ने र एउटै स्टेशनरी तथा बुक डिपोबाट मात्र कपी, किताब खरीद गर्न अभिभावकहरुलाई बाध्य पार्ने विकृति अन्त्य गर्न स्नेशनरी व्यावसायी र नेपाल विद्यार्थी संघबीच सहमति भएको छ ।

नेवि संघ महेन्द्र बहुमुखी क्याम्पस ईकाईले शैक्षिक विकृति, कमिशनको खेल तथा सिण्डिकेट अन्त्य गर्न भन्दै स्टेशनरी व्यवसायीलाई ध्यानाकर्ष पत्र बुझाएको एक सातामा दुवै पक्षबीच वार्ता भएर यस्तो सहमति भएको हो । स्टेशनरी व्यवसायी र नेविसंघबीच बुधबार भएको वार्तामा ३ बुँदे सहमति भएको छ । वार्तामा विद्यार्थीहरु मारमा परेको निष्कर्ष निष्कर्ष सहित सहमतिको पहिलो बुँदामा विद्यालयको पहिचान अंकित शैक्षिक सामग्री आजकै मितिदेखि बिक्रीवितरण बन्द गर्ने निर्णय भएको छ ।

यस्तै, निजी विद्यालयहरु भित्र रहेको बेथिती अन्तय गर्न सम्बन्धित सबै पक्षसँग परिणाममुखी सहकार्य गर्ने पनि दोस्रो बुँदामा सहमति भएको छ । यसैगरी, निजी विद्यालयहरुले आफ्नो प्रयोगको पुस्तक र प्रकाशकको बारेमा शैक्षिक सत्र शुरु हुनु अगावै सहजरुपमा सार्वजनिक गर्नुपर्ने माग सहित सम्बन्धित सरोकारवाला पक्षसँग सशक्तरुपमा प्रस्ताव लैजाने पनि उक्त वार्तामा सहमति भएको नेवि संघले जानकारी दिएको छ ।

IMG_20190411_134934

संघले आज बिहिबार महेन्द्र बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गर्दै स्टेशनरी व्यवसायीहरुसँग भएको सहमति कार्यान्वयन भए नभएको बारेमा स्थानीय सरकार, प्रहरी प्रशासनसँग सहकार्य गरेर अनुगमन गरिने जनाएको छ । ‘विद्यार्थी, अभिभावकहरुलाई परेको मर्काको बारेमा विद्यार्थी संगठन निरन्तर आन्दोलन गरिरहन्छ, हामीलाई पार्टीकै नेताबाट दबाब आएपनि पछि हट्दैनौ,’ नेविसंघ महेन्द्र क्याम्पस ईकाई कार्यवाहक सभापति एवं स्ववियु सचिव दोर्ची शेर्पाले भने,‘विद्यार्थी हकहितको लागि संगठनमा लागेको हुनाले सहमति पालना नभए कसैलाई पनि छोड्दैनौ ।’

विद्यालय सञ्चालकहरुले कमिशनको लोभमा परेर कुनै एउटा पसलसँग विद्यालयको नाम प्रिन्ट गरेको कपी बिक्री गर्ने सम्झौता गर्ने गरेको र त्यसले अभिभावकहरुलाई ठुलो आर्थिक भार पर्ने शेर्पाले बताए । आफ्नो घर नजिकैको पसल वा चोकमा भएको स्टेशनरी पसलबाट कपी किन्न नपाइने र भानुचोक बजार पुग्नेपर्ने, त्यहाँ पनि एउटा निश्चित पसलबाट मात्र किन्न बाध्य हुने भएकोले पसलले तोकेको अचाक्ली मुल्य तिरेर अभिभावकहरु ठगीमा परिरहेको उनको भनाई छ । ‘निजी विद्यालयहरुले कमिशनको लोभमा यसरी लुट मच्चाईरहेका छन्, अब यसको अन्त्य हुनैपर्छ,’नेवि संघका जिल्ला सचिव टकेन्द्र राईले भने,‘जुनसुकै पसलमा खुला प्रतिस्पर्धामा किन्न पाउनुपर्छ । यसको लागि संघको जिल्ला समिति पनि परिचालित हुन्छौ ।’

अबको आन्दोलन विद्यालयतर्फ केन्द्रीत

nebi-sangh1

स्टेशनरी व्यवसायीहरुसँग विद्यालयको नाम प्रिन्ट गरेर कपी नबेच्ने सहमति भएपछि नेपाल विद्यार्थी संघको आन्दोलन अब पुस्तक, स्कुल ड्रेसमा कमिशन लिएर विद्यार्थी र अभिभाकहरुलाई आर्थिक भार बोकाउने विद्यालय सञ्चालकहरुतर्फ केन्द्रीत हुने जनाएको छ ।

संघले प्याब्सन, एन प्याब्सन, एसिसिहरुलाई पनि ध्यानाकर्षण पत्र पठाएर शैक्षिक क्षेत्रको विकृति भण्डाफोर गर्न चरणबद्ध आन्दोलनको तयारी गरेको छ । ‘अब विद्यालयहरुले पुस्तक, ड्रेस, मोजा, जुत्ताबाट लिइरहेको कमिशन अन्त्य गर्ने हाम्रो आन्दोलनको लक्ष्य हुनेछ,’शेर्पाले भने,‘ब्याग पनि एउटै पसलबाट लिनुपर्ने । युनिफम, ट्रयाक सुट, मोजालगायत सामान जुनै पसलमा किन्न नपाइने, त्यसमा पनि विद्यालय सञ्चालकहरुले कमिशन खाने गरेका छन् ।’

विद्यार्थीको हकहितको लागि संघले जस्तोसुकै मुल्य चुकाउन पनि तयार हुने भन्दै विद्यालयहरुले पुस्तक प्रकाशन गृहसँग कमिशनको बार्गेनिङ गरिरहेकैले अहिलेसम्म नयाँ शैक्षिक सत्रको पुस्तक र प्रकाशकको नाम सार्वजनिक नगरेको जनाएको छ । ‘शैक्षिक सत्र शुरु हुनु २, ३ दिन बाँकी छ । विद्यालयहरुले अहिले पुस्तक प्रकाशन गृहसँग कमिशनको बार्गेनिङ गरिरहेको छ । अब कमिशन मिलेपछि मात्र निजी स्कुलहरुले यो प्रकाशन गृहको यो यो पुस्तक चलाउछौ भन्छन्, र स्टेशनरीले त्यो विद्यालयको लागि प्रकाशन गृहबाट पुस्तक मगाउछन्,’शेर्पाले भने,‘कमिशनकै लागि हरेक बर्ष प्रकाशन गृह फेरिन्छ, पुस्तक फेरिन्छ । हामी यो विकृतिको अन्त्य चाहन्छौ, र मध्यम, निम्न परिवारका विद्यार्थीहरुलाई राहत दिलाउछौ ।’