धरान(डेस्क): बालबालिका र किसोरकिसोरीहरुमा लत बसेको पब्जी खेलले मानसिक समस्यासमेत निम्त्याएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यो खेललाई नेपालमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड हुन र खेल्नमा रोक लगाउन पत्र पठाइसकेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आज सबै इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरिएको जानकारी दिएको कान्तिपुरडेली अनलाइनले भर्खर समाचार प्रकाशन गरेको छ । प्राधिकरणको अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा पब्जी खेलमा प्रतिबन्ध लगाइएको हो ।

के हो पब्जी ?

खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) भनेको दुईविपरीत समूहका लडाकुहरू कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो । २०१७ मा दक्षिण कोरियाको ब्लु होल भन्ने कम्पनीले सार्वजनिक गरेको अनलाइन खेल पब्जीमा एकै पटक ६ जनासम्मले काल्पनिक युद्ध गर्न सक्छन् ।

बालकालिकामा मानसिक विचलन

पब्जी खेल खासगरी बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय थियो । तर, यसले मानसिक समस्या निम्त्याएको विज्ञहरुले बन्द गर्नुपर्ने सुझाव पनि दिदै आएका थिए । मनोचिकित्सकहरुका अनुसार यो खेलले बालबालिका तथा किसोरकिसोरीहरुलाई हिंसातर्फ आकर्षित वा लगाव बढाइरहेको छ । खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएको चिकित्सकहरुको भनाई छ । अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौंघण्टा बिताएका बच्चाहरू वास्तविक जीवनमा पनि मार्ने र जित्ने भावनाले उत्प्रेरित हुने मनोचिकित्सकहरुले बताएका छन् । अधिकांश बालबालिकाहरू अहिले पब्जीका अम्मली भएका छन् ।