ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “त्रिदेशीय बस सेवा अलपत्र” शीर्षकको समाचार छापिएको छ । एक वर्षअघि तामझामका साथ बङ्लादेश, भारत र नेपालबीच शुरु गरिएको त्रिदेशीय बस सेवाको परिक्षणपछि अलपत्र बनेको छ । ब्ङ्लादेश, भारत र नेपालले एक अर्कामा स्थलमार्गबाट जोड्नका लागि बससेवा काशेढुङगा भएको बताइएको थियो । तर, एक वर्षअगाडि सफल परीषण भएको उक्त बस सेवा अहिले एकादेशको कथा जस्तो बनेको छ । बस सेवा निरन्तर दिन नसक्ने भन्दै सोही समयदेखि बन्द भएको छ । बस सञ्चालनमा दुबै देश गम्भिर बन्न नसकेकोले सञ्चालनमा आउन नसकेको नेपाल बङ्लादेश चेम्बर्स अफ ट्रेडर्सका अध्यक्ष यादव पौडेलले बताए । बसको रुट ढाका–बङलाबन्धु–सिलिगुडी–काँकाडभिट्टा हुँदै काठमाण्डौँ पुग्ने तय भएको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “क्रसर आतंकविरुद्ध आन्दोलन” शीर्षकको समाचार छापिएको छ । मोरङको उर्लाबारी नगरपालिकाको वडा नं. १ मा मात्रै ७ वटा क्रसर उद्योग सञ्चालनमा छन् । क्रसर हटाउन बारम्बार आग्रह गरे पनि नहटाएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । स्थानीयले सो क्षेत्रमा सुरु गरेको आन्दोलनपछि संघीय सांसद् कुलप्रसाद साम्बा, घनश्याम खतिवडा, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारीले स्थलगत अनुगमन गरेर माग पूरा गराउने आश्वसन दिएका थिए । सरकारले क्रसर उद्योगलाई व्यवस्थित र मानवीय जोखिम कम गर्न निर्देशिका बनायो । तर, मोरङमा यो निर्देशका पालना भएको छैन । मोरङको उर्लाबारी नगरपालिका १ मा मापदण्डविपरीत क्रसर उद्योग सञ्चालित छन् । सरकारको निर्देशिका पालना गर्न न व्यवसायीले तदारुकता देखाएका छन्, न त यष्सलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिएको छ । क्रसर उद्योग सञ्चालकले कानुन मिचिरहेकै छन् ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “कुम्भ नुहाएर, पानीजहाजमा सरर” शीर्षकको समाचार छापिएको छ । ३ नम्बर प्रदेशको नारायणघाटबाट अर्धकुम्भ मेला घुम्न आएका पृथ्वी जोशीले अलि पर कोशीको नदीमा सरर जहाजजस्तो हिँडेको देखे । बुधबार चतरामा कुम्भ नुहाउँदै गर्दा अलि पर उत्तरतिर कोशीमा जहाज चलेको उनले देखेका थिए । नदीमा काठको डुङ्गा मात्र चलेको देखेका २१ वर्षीय जोशी पानी जहाज चढ्न आतुर भए । पहिलो पटक कोशीमा नुहाइयो पनि अनि पहिलो चोटी पानीजहाज पनि चढ्न पाइयो । जोशी मात्र होइन ३० जनाको समूहमा आएको उनीहरुको टालीमा ४५ वर्षीयष् नारायण चौधरीबाहेक पानीजहाज अर्थात् जेट बोट देख्ने कमै थिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “तीन कार्यदल गठन” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले तीनवटा कार्यदल गठन गरेको छ । मन्त्रालयले आवासीय विद्यालय सञ्चालनका लागि सम्भाव्यता कार्यदल, स्थानीय भाषा विकास कार्यदल र राजनीतिक संग्राहलय स्थापना कार्यदल गठन गरेको हो । मन्त्रालयले कार्यदललाई ४५ दिन भित्र प्रतिवेदन पेस गर्ने समय दिएको छ । डिल्ली शर्मा अधिकारीको संयाजकत्वमा १२ सदस्यीय आवासीय विद्यालय सञ्चालनका लागि सम्भाव्यता कार्यदल, हरिप्रसाद घिमिरेको संयोजकत्वमा १५ सदस्यीय स्थानीय भाषा विकास कार्यदल र ओम कोइरालाको संयोजकत्वमा राजनीतिक संग्राहलय स्थापना कार्यदल गठन गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।