धरान : फरक विचार र फरक राजनीतिक दलबाट निवार्चित जनप्रतिनिधिबीच द्वन्द हुनु र एकअर्काको विरोध हुनु स्वभाविक हो । तर, जनताबाट दुईतिहाई बहुमत पाएर चुनिएको स्थानीय तहका एउटै पार्टीका जनप्रतिनिधिहरुबीच निरन्तर द्वन्द हुनु भने स्वभाविक होइन ।

जनतासँग प्रत्यक्ष सम्बन्ध र सरोकार रहने स्थानीय तहका जनप्रतिनिधिहरुको काम भनेको विकास, निर्माणलाई तीब्रता दिनु हो । यसको लागि जनप्रतिनिधिहरु जुनसुकै पार्टीको किन नहोस्, एक भएर जुट्न आवश्यक छ । त्यसैले संविधानले नै पनि स्थानीयतहमा प्रतिपक्षीको व्यवस्था गरेको छैन । जुनै पार्टीबाट निवार्चित भएपनि स्थानीय तहमा ऊ सत्तापक्ष नै हुन्छ । तर, धरान उपमहानगरपालिकामा भने एउटै पार्टीबाट निवार्चित जनप्रतिनिधिबीच द्वन्द चर्किदै गएको छ, र पछिल्लो समय यो सतहमा देखिन थालेको छ ।

केही दिनअघि सोमबार धरानबाट वडाअध्यक्ष, सदस्यहरुहरुको झण्डै २ दर्जन टोली भ्रमणमा निस्केको छ । सुशासन समितिको आयोजनामा लगिएको भ्रमणमा ७ वटा वडाका अध्यक्षहरु जाने भनिए पनि ३ जना मात्र वडाअध्यक्षहरु गए । वडा नं २०, ४ र १० का वडाअध्यक्षहरु बसमा चढ्दै गर्दा वडा नं १२ का अध्यक्ष टंक राई र वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले भने उपमहानगरपालिका परिसरमा पत्रकारहरुलाई भ्रमणको विरोधमा चर्को अभिव्यक्ति दिइरहेका थिए । जनताले तिरेको करमा एक साताभित्रै दोस्रो पटक अनावश्यक खर्च गर्न घुमफिरमा गएको भन्दै उनीहरुले भ्रमण बहिष्कार गरेको पनि बताए । भ्रमणमा जाने र विरोध गर्नेहरु सबै साविक एमालेबाट निवार्चित भएका अध्यक्ष हुन् भने कार्यवाहक मेयर पनि एमालेकै हुन् ।

IMG_20190408_075232

आज पुनः वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले सार्वजनिक कार्यक्रममा गम्भीर अभिव्यक्ति दिए । वडा नं १३ को कार्यालयमा आयोजित नयाँ बर्ष २०७६ को शुभकामना आदनप्रदान कार्यक्रममा धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीसँग काम गर्न नसक्ने अवस्था भएको बताए । प्रदेश सभामुख प्रदीपकुमार भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा उनले धरानमा मेयर पदको चुनाव चाडो भन्दा चाडो गराउन पनि माग गरे । ‘कार्यवाहक मेयरसँग काम गर्न नसक्ने अवस्था छ, यहाँ माननीय सभामुख प्रदीप भण्डारी हुनुहुन्छ, चडो धरान उपमहानगरको मेयरको चुनाव होस भन्ने हामी सबैको माग छ,’वडाअध्यक्ष काफ्लेले भने ।

स्वर्गीय मेयर तारा सुब्बाको स्मरण गर्दै वडाअध्यक्ष सुब्बाले उनको निधनपछि आफुहरु कुपोषण भएको जस्तै अवस्थामा पुगेको पनि बताए । कार्यवाहक मेयरले वडामा अवश्यक बजेट पनि कटौती गर्न थालेको भन्दै अध्यक्ष काफ्लेले काम गर्ने इच्छा शक्ति पनि हराउदै गएको गुनासो गरे । ‘कुटेर छोडेको सर्पजस्तो भएर काम गर्नुपरेको छ, काम गर्ने वातावरण भएन । सहज तरिकाले काम गर्ने अवस्था बनोस्,’स्वर्गीय मेयर सुब्बालाई सम्झदा गहभरी आँशु बनाएका अध्यक्ष काफ्लेले भने,‘उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु, उहाँ नहुदा हामी घाइते भएका छौ ।’

IMG_20190412_093628