इटहरी:वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीसहित चारजना सम्मानित भएका छन् ।

इटहरीमा शुक्रबार तारानिधि धनमाया अधिकारी स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान प्रदान गरेको हो । सम्मानित हुनेहरुमा श्रष्टा अधिकारी, पत्रकारद्धय अरुण बराल, सीता मादेम्बा र शहीद स्मृति आवासीय विद्यालयका प्रिन्सिपल शिवचन्द्र राई रहेका छन् । उनीहरुलाई क्रमशः नगद २५ हजार, २१ हजार, १५ हजार र १० हजार १ रुपैँयासहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै सम्मानित श्रष्टा अधिकारीले इटहरी आफ्नो प्रिय ठाउँ रहेको बताए । उनले भने,‘इटहरी मेरो प्रिय ठाउँ हो । किनकि, यो ठाउँ सर्जक र संगीतको थलो हो ।’ आत्मीय ठाउँ रहेकाले आत्मीय मानिससँग भेट्दा आत्मीय कुरा हुने उनको तर्क थियो । सामाजिक स्वीकृतिको रुपमा पुरस्कारलाई लिएको खुलाउदै उनले भने,‘पुरस्कार लिन्न भन्ने मानिसलाई भन्न मन छ–तपाईँलाई सामाजिक स्वीकृति चाहिँदैन ?’

उनले श्रष्टाले राज्यले केही दिएन र राज्यले श्रष्टालाई केही दिन सकिएन भन्नु भन्दा पनि पारिश्रमिक लिने वातावारण मिलाई दिनुपर्नेमा जोडदिए । पछिल्लो समय पुरस्कार लेनदेनमा मात्रै सीमित हुँदै गएकोमा केन्द्रीत हुँदै उनले भने,‘पुरस्कार दिनुभन्दा पनि यसको गरिमा बचाउनका लागि कठीन छ, यसमा आयोजकले ध्यान दिनु आवश्यक छ ।’

हालसम्म उनको कविता, गीत र फोटोसंग्रह गरी १६ वटा संग्रह प्रकाशन छन् भने अन्य पत्रपत्रिका र साहित्यिक पत्रिकाहरुमा सयौँ रचना प्रकाशित भईसकेका छन् । कार्यक्रममा बोल्दै सम्मानित ब्यक्ति पत्रकार अरुण बरालले बाटो नबनेको ठाउँमा हिड्नुपर्नेमा जोड दिए । उनले सम्मान लिनु र दिनु दुवै कुरा जोखिम रहेको बताए । ‘मैले यो सम्मानलाई राम्रो काम गर्नु भनेर दिएको बुझेको छु,’उनले भने,‘समाजलाई सेवा दिनु नै हाम्रो काम हो ।’

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवाले समाजमा धार्मिक अनुष्ठानका कार्यक्रमले आँफूलाई दुःख दिएको बताए । उनले पछिल्लो समय समाजमा चलिरहेको पुराणले आममानिसलाई दुःख दिएको बताउँदै भने,‘म केही दिन अगाडिबाट अनिदो छु, घर नजिकै पुराण लागेको छ ।’ साँवाले पुराण माईकमा नलगाउँनका लागि मानिसहरु भन्न आउने भएपनि आफूँले भन्न नसकेको बताए । उनले भने, ‘मलाई पुराणबाट डिस्र्टब भयो, तपाई त माननीय हो भनेको टेर्छन्, भन्दिन पर्यो भन्नुहुन्छ, तर म भन्नै सक्दिन, मैले उहाँहरुलाई त्यसो भनेको खण्डमा मेरो भोट काटिन्छ ।’ साँवाले आँफ्नो भोट काटिने भएकाले त्यसो भन्न नसकेको बताए ।

कार्यक्रममा सभाध्यक्ष एवम् तारानिधि धनमाया स्मृति प्रतिष्ठानका संस्थापक रामचन्द्र अधिकारीले मानिसले जीवनमा आफ्नो लागि आफैँले काम गर्नुपर्ने बताए । उनले २०६९ सालमा यो पुरस्कारको स्थापना गरी विभिन्न क्षेत्रमा अग्रसर रहेका मानिसहरुलाई सम्मान प्रदान गर्दै आएको बताए । उनले आफ्नो माता पीताको नाममा उक्त पुरस्कारको स्थापना गरेका हुन् ।