धरान:आठौ राष्ट्रिय खेलकुदमा प्रदेश नं १ को प्रतिनिधित्व गर्ने साइक्लिङका खेलाडीहरु शुक्रबार आयोजनास्थल नेपालगञ्जतर्फ प्रस्थान गरेका छन् ।

ती खेलाडीहरुलाई शुक्रबार धरानको घण्टाघरमा एक कार्यक्रम आयोजना गरी विदाई गरिएको थियो । आठौ राष्ट्रिय खेलकुदमा साइक्लिङमा प्रदेश नं १ बाट ४ जना महिला र २ पुरुष सहभागी हुदैछन् । उनीहरु सबै सुनसरी जिल्लाबाट छानिएका हुन् । प्रदेश १ मा साइक्लिङमा सुनसरी जिल्ला र त्यहाँ पनि धरान निक्कै अघि छ ।

सुनसरी साइक्लिङ संघले एक कार्यक्रम गरी महिला खेलाडी र मेनेजरलाई विदाई गरेको थियो । पुरुष खेलाडीहरु भने काठमाण्डौंमा च्याम्पियनसिप खेल्न गएकोले उतैबाट नेपालगञ्ज जाने सचिव जयन्त गौतमले जानकारी दिए । साइक्लिङमा प्रदेश नं १ बाट महिलातर्फ आशा लिम्बू, इशा तामाङ, एनी गुरुङ र निक्की नेम्बाङले प्रतिनिधित्व गर्नेछन् । पुरुषतर्फ मोहन श्रेष्ठ र किरण राई छन् । टिम मेनेजरकोरुपमा सुनसरी साइक्लिङ संघका अध्यक्ष राजेन लिम्बू गएका छन् ।

cyclin1

खेलाडीहरुलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राई, धरानका पुर्वमेयर मनोजकुमार मेन्याङबो, एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमी, धरान रनका अध्यक्ष रमु राई, युनिक ट्राभल एण्ड टुर्सका प्रोपाइटर कुन्दन श्रेष्ठलगायतले खादा लगाएर विदाई गरेका थिए । प्रतियोगिता बैशाख २ गते कोहलपुरमा हुने बताइएको छ । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने बैशाख ५ गते हुनेछ ।