धरान : नेपाल सुनचाँदी कला व्यवसायी संघ एक नम्बर प्रदेश कमिटीले सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रदेश १ मा एकलौटी ढंगले कमिटी गठन गरेको प्रति असहमति जनाएको छ ।

चैत्र २६ गते सुनचाँदी व्यवसायी संगठनहरुको छाता संगठन नेपनल सुनचाँदी रत्न तथा आभूषण महासंघले विशन शाक्यको संयोजकत्वमा १७ सदस्यीय १ नम्बर प्रदेश कमिटी गठन गरेको थियो । उक्त कमिटी गठन भएको समाचार विभिन्न सञ्चार माध्यमहरुबाट प्रकाशन प्रसारण भएपछि नेपाल सुाचाँदी कला व्यवसायी संघ १ नं. प्रदेश कमिटीले तत्काल बैठक बसी आपत्ति जनाएको हो ।

आभूषण महासंघको गठन विधि, प्रक्रियागतसंगत नभई एकल, मनोगत र व्यक्तिवादी प्रवृत्ति हाबी भएको नेपाल सुनचाँदी कला व्यवसायी संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । केन्द्रमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा नेपाल सुनचाँदी व्यवसायी संघ आवद्ध संस्था हो । गत वर्ष प्रेमबहादुर विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय नेपाल सुनचाँदी कला व्यवसायी संघ विधिवत रुपमा गठन भएको थियो भने प्रदेश १ का १४ वटै जिल्लाका प्रतिनिधहरुलाई समावेश गराएका थिए । महासंघको भेला हुदा संस्थालाई आधिकारीक जानकारी समेत नदिइ, क्रियाशील व्यवसायीहरुलाई बाइपास गरेर केही गैरव्यावसायीहरुको समूह खडा गरेर मनोमानी ढंगबाट महासंघको हवला दिदैँ गलत, भ्रामक प्रचारबाजी गरिनु अत्यन्तै झुठ र गैरजिम्मेवार कार्य भएको नेपाल सुनचाँदी कला व्यवसायी संघ एक नम्बर प्रदेश कमिटीले दावी गरेको छ । प्रदेश १ को सुनसरी, झापा, मोरङ, तेह्रथुम, भोजपुर, ताप्लेजुङ, इलाम, धनकुटा लगायतका जिल्ला समितिहरुलाई समेत खबरै नगरी विशन शाक्यको नेतृत्वमा गठन भएको उक्त समिति अवैधानिक, अराजक र गुटगत एउटा समूह मात्रै भएको जानकारी गराएको छ ।

उक्त विषयमा नेपाल सुनचाँदी कला व्यवसायी संघ केन्द्रीय कार्यसमितिमा जानकारी गराएको र समितिले समेत सो क्रियाकलापप्रति स्पष्ट धारणासहित असहमति जनाएको छ ।

तस्विरः–सनम तामाङ