धरान: सरकारी कार्यालयहरु धमाधम अन्यत्र सारिएपछि राज्यसँग असन्तुष्ट बनेका धरानबासीहरुको लागि एउटा खुशीको खबर छ । यहाँ प्रदेश सरकारको वन मन्त्रालय मातहतको प्रादेशिक वन निर्देशनालयको कार्यालय स्थापना हुदैछ ।

प्रदेश सरकारले वन निर्देशनालय धरानमा स्थापना गर्ने निर्णय गरिसकेको छ भने कार्यालयको लागि धरान १३ मा घरभाडाको सम्झौता पनि भइसकेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश खुसियैतका अनुसार वन निर्देशनालयको कार्यालय धरानमा राख्ने निर्णय कार्यान्वयनको चरणमा छ । ‘एक, दुई भित्रै कार्यालय उद्घाटन हुन्छ,’मन्त्री खुसियैतले भने,‘वन निर्देशक र उहाँको मातहतमा १७,१८ जना कर्मचारीहरु रहन्छन् ।’

IMG_20190412_102614

वन निर्देशनालयको कार्यालय धरान १३ स्थित इलाका प्रशासन कार्यालय केही मास्तिर भाडामा लिइएको छ । घरधनी गोविन्द राई र निर्देशनालयबीच सम्झौता पनि भइसकेको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले बताए । ‘धरानको सरकारी कार्यालय सरेको सरेकै छ,यो कार्यालय धरान आउनु खुशीको कुरा हो,’अध्यक्ष काफ्लेले भने,‘एउटा कार्यालय आउदा त्यहाँको व्यापार, व्यवसायी पनि बढ्छ, जनतालाई सहज पनि हुन्छ ।’

पर्यटन कार्यालय ल्याउन पनि पहल

स्रोतका अनुसार धरानमा पर्यटनको पनि प्रादेशिक कार्यालय ल्याउने निर्णय भैसकेको छ । तर, यो निर्णय गोप्य राखिएको छ । मन्त्री खुशीयैतका अनुसार पर्यटन निर्देशनालय गठन गर्न नै बाँकी छ । ‘पर्यटनको गठन गर्न नै बाँकी छ, निर्णय भइसकेको छैन,’मन्त्री खुसियैतले भने । यता, धरानका जनप्रतिनिधिहरुले भने पर्यटन कार्यालय पनि धरानमा ल्याउने निर्णय भएको भन्दै लविङ गरिरहेका छन् ।