धरान: चार जनाको ज्यान जाने गरी भयानक दुर्घटना भएको साता पनि नबित्दै धरानमा अर्को ठुलो दुर्घटना भएको छ ।

चारकोशे जंगलस्थित विश्वकर्मा मन्दिरदेखि केही तल पानीटंकी नजिक कोशी राजमार्गमा भएको दुर्घटना ३ जनाको ज्यान गएको छ । एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इटहरीस्थित १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमराज दाहालले जानकारी दिए ।

दाहालका अनुसार राती करिब साढे ११ बजे धरानबाट इटहरी जादै गरेको बा २० च ४०७६ नम्बरको कारले त्यतै जादै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि इटहरीबाट धरानतर्फ आउदै गरेको को १ ख ४७६१ नम्बरको बसमा उक्त कार ठोक्किएर दुर्घटनाग्रस्त बन्यो । दुर्घटना परी कारमा सवार इटहरी ५ का अनिल श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो भने जनक बुढाथोकी र मदन लिम्बूको वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक दाहालले जानकारी दिए । यस्तै, कार चालक गोविन्द बस्नेत गम्भीर घाइते छन् । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । ट्याक्टर चालक र बस चालक पनि सामान्य घाइते छन् ।