उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाको सही दृष्टिकोण वा मनोवृत्ति रहने भए आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने बताएका छन् ।

नेता किमले जारी गरेको एक वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसी रुपमा स्वीकार्य बनाए आफू वार्ताका लागि तयार रहेको उल्लेख छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किमको भनाइसम्बन्धी समाचार प्रसारण गरेको छ ।

किमले दुवै देशलाई हित हुनेखालको मनसायसहितको वार्ताका लागि आफू तयार रहेको उल्लेख गरेका छन् । किम र ट्रम्पबीच पहिलो पटक गत वर्ष सिंगापुरमा भेटवार्ता भएको थियो ।

परमाणु निशस्त्रीकरणको प्रक्रियाका बारेमा सहमति नजुटेपछि वार्ता टुटेको थियो । त्यसपछि उनीहरुबीच दोस्रो वार्ता भियतनाममा भएको थियो । उत्तर कोरियाले उसमाथिको सम्पूर्ण आर्थिक प्रतिबन्ध हटाइनु पर्ने बताएको दाबी ट्रम्पले गरेका थिए ।