नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मनोमानीले पार्टी कमजोरः सिंह” शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्वको मनोमानीले समस्या सिर्जना भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले पार्टी विधान र नियमसंगत रुपमा नभई नेतृत्वको मनोमानीका आधारमा चल्दा समस्या भइरहेको र दिनानुदीन पार्टी कमजोर भइरहेको बताएका हुन् । सिंहले पार्टी प्रजातान्त्रिक पद्धतिबाट नभई सभापतिको एकलौटी निर्णयबाट सञ्चालन भइरहेको गुनासो गरे । तदर्थवादबाट पार्टी सञ्चालन भइरहेको कारण पार्टीमा व्यापक असन्तुष्टि देखिएको सिंहले स्पष्ट पारे । पार्टीभित्र काखापाखा भएको गुनासो व्यापक रुपमा आरहेको छ । जताततै नेतृत्वको कार्यशैलीप्रति गुनासा र असन्तुष्टि देखिइरहेको छ । यति हुदाँहुदैँ पनि पार्टी नेतृत्व समस्या समाधान गर्नेतर्फ नभई समस्या अझै बढाउन उद्यत रहेको सिंहले बताए ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “पाँचथरमा सरकारले १ सय १५ घर बनाइदिने” शीर्षकको अर्को समाचार पनि छापिएको छ । जिल्लामा निम्न आर्थिक अवस्थामा रहेका दलित तथा माझी समुदायका व्यक्तिहरुको घर सरकारले बनाइदिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत यहाँका आठ स्थानीय तहका १ सय १५ परिवारलाई घर बनाइदिन लागिएको हो । जिल्लामा ३ करोड ८१ लाख खर्चिएर घर बनाइन लागेको हो । प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रमअन्तर्गत रहेर पाँचथरमा पहिलोपल्ट जनताको घर निर्माण गर्न लागिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “महालेखा परीक्षकको प्रतिवेदनमा समेटियो “इटहरीको सीएफएल प्रकरण” शीर्षकको समाचार छापिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत विचाराधीन अवस्थामा रहेको इटहरी उपमहानगरपालिकाको बहुचर्चित सीएफएल खरीद प्रकरणलाई महालेखा परीक्षकको प्रतिवेदनमा समेटिएको छ । महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५६ औ वार्षिक प्रतिवेदनमा इटहरी उपमहानगरपालिकाले सार्वजनिक खरीद ऐनको घज्जी उडाउँदै जनप्रतिनिधि आएको पहिलो त्रैमासिकमा भएको सीएफएल खरिद नियमसङ्गत नभएको उल्लेख गरेको छ । सडक बत्तीको सीएफएल बल्ब खरिद गर्दा सबर्वजनिक खरीद ऐनको पालना नगरेको भन्दै प्रतिवेदनमा उपमहानगर र सरकारलाई जिम्मेवार बन्न महालेखा परीक्षकले सचेत गराएको छ ।