काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले थालेका कामको परिणाम देखिन थालेको बताएकका छन् ।

नवबर्ष २०७६ का अवसरमा आज बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनमा भने,“मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिंदैछ । घरजग्गा कारोवार होस् वा संगठित तस्करी,नक्कली भ्याट बिल प्रकरण देखि सबै प्रकारका अबाञ्छित कामको छानविन जारी छ ।”

प्रधानमन्त्री ओलीले भ्रष्टचार विरुद्धको लडाईं चुनौतिपूर्ण भए पनि यसमा सरकार पछि नहट्ने बताए । “भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतिपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूलय चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरिछाड्ने अभियानमा म प्रतिवद्ध छु ” प्रधानमन्त्री ओलीले सन्देशमा भने ।

प्रधानमन्त्री ओलीले गएको बर्ष सरकारले शान्ति,विकास र समृद्धिको नीतिगत,कानुनी र संरचनागत जग बसाल्न खर्च गरेको बताए । “अब त्यही जगमा उभिएर विकास र समृद्धको यात्रा तिव्र गतिका साथ अघि बढाउछौं” प्रधानमन्त्री ओलीले भने,“हामीले हाम्रा सम्पूर्ण स्रोत,साधन यही प्रयोजनामा खर्च गरेका छौं । ”

पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गरिरहँदा समयलाई हेक्का राख्न सबै नेपालीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले यसै कार्यकालमा देशलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्ने, सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्टाउने लक्ष्यका साथ काम गरिरहेको बताए।