धरान: ब्रिटिश गोर्खा सैनिकहरुको लागि पहिचान स्थापित गर्न र वीर गाथालाई अभिलेखीकरण गर्ने उद्देश्यले धरानको वडा नं २० मा निर्माणाधित ब्रिटिश गोर्खा स्मृति पार्कमा चमेना गृहको उद्घाटन गरिएको छ ।

ब्रिटिश गोर्खा स्मृति पार्क सञ्चालक समितिले आइतबार नयाँ बर्षको पहिलो दिन(बैशाख १ गते)को अवसर पारेर चमेना गृहको उद्घाटन गरेको हो । पुर्णरुपमा निर्माण सम्पन्न हुन बाँकी रहे पनि खाजा घर सञ्चालनमा आइसकेको र पर्यटकहरुलाई सुविधा थपिएको हुनाले चमेना गृहको उद्घाटन गरिएको समितिले जनाएको छ । भूपू महिला कमिटिको अगुवाईमा निर्माण सम्पन्न भएको चमेना गृहको भिसि बिजेता भूपू क्याप्टेन रामबहादुर बेघाले रिबन काटेर उद्घाटन गरेका थिए ।

भिसि बेघाले पार्क निर्माण भएकोप्रति खुशी व्यक्त गर्दै आफुहरु मरेर गएपनि अमर बनाउने धारणा राखे । साथै, उनले पार्कमा देशविदेशबाट पर्यटकहरु घुम्न आउने भएकोले यो ठाउँको आर्थिक विकास पनि हुने धारणा राखे । ‘साह्रै राम्रो काम भइरहेको छ, भिसिहरुको मुर्ति पनि राख्ने भएको रहेछ । हामी मरेर गएपनि यहाँ रहीरहनेछौ,’उनले भने,‘यो ठाउँमा देशविदेशबाट मान्छेहरु आउछन्, विकास हुन्छ ।’

IMG_3853

चमेना गृह निर्माणमा हालसम्म ३० लाख बढी लगानी भैसकेको समितिले जनाएको छ । गृह ४ तले भवन छ । सबैभन्दा मुनिको २ वटा तलामा २ कोठे र ४ कोठे लज तयार हुन बाँकी छ भने तेस्रो तलामा खाजा घर बनेको छ । चौथो तलामा सेभेन जिआर र टेन जिआरको हल निर्माण भएको छ । ‘घरदैलो गरेर उठायौ, देउसी भैलोको पैसा पनि लगायौ,’महिला कमिटिकी अध्यक्ष सुवित्रा राईले भनिन्,‘सबै दाताहरुबाटै उठाएर बनाएका हौ ।’

चमेना गृह उद्घाटन समारोहमा स्वर्गीय मेजर इन्द्रजित वनेमका छोराहरुले पार्क निर्माणको लागि १५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको पार्क समितिका अध्यक्ष भूपू क्याप्टेन हरिबहादुर लिम्बूले जानकारी दिए । ‘यो सबै दाताहरुबाट नै बनेको हो, तल्लो तलामा २ कोठे र ४ कोठो अतिथि गृह बनाउन बाँकी नै छ,’उनले भने,‘यही खाने बस्ने व्यवस्था हुन्छ । अहिले पनि २ वटा होम स्टे सञ्चालनमा छ ।’

chamena9