धरान: विगत १४ बर्षदेखि प्रकाशन शुरु भएको औजार दैनिक आजदेखि रंगीन पत्रिकाकोरुपमा प्रकाशन शुरु भएको छ ।

एक कार्यक्रमबीच आज प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, संघीय सांसद जयकुमार राई, प्रदेश सांसदसहितका अतिथिहरुले रंगीन औजार दैनिकको लोर्कापण गरेका थिए । शुरुमा २८ जना यातायात मजदुरहरुले साप्ताहिक पत्रिकाकोरुपमा औजारको प्रकाशन शुरु भएको थियो । पछि औजारलाई सहकारी प्रकाशन मातहतमा लगेर दैनिकरुपमा प्रकाशन शुरु भएको थियो । औजार दैनिकको प्रधानसम्पादक भिम राई ज्वाला हुन् भने कार्यकारी सम्पादक रणध्वज लोहार छन् । ‘यातायात मजदुरहरुले शुरु गरेको भएपनि पत्रिकालाई यो अवस्थासम्म ल्याइपुर्याउन सबैको साथ सहयोग छ । हामीले पनि औजार सबैको पत्रिका बनाउन प्रयास गरिरहेका छौ,’अध्यक्ष मोतिराज सुनुवारले भने ।

कार्यक्रममा बोल्दै सांसद जयकुमार राईले लोकतान्त्रिक गणतन्त्र ल्याउन मिडिया र पत्रकारहरुको ठुलो भुमिका रहेको बताउदै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश नलगाउने बताए । जथाभावी लेख्ने सामाजिक सञ्जाल र पत्रकारितालाई मर्यादित गराउने मात्र सरकारको उद्देश्य भएको उनले बताए । ‘अभिव्यक्ति स्वतन्त्रतालाई, कुनै वाद वा विचारलाई अंकुश लगाइएको छैन,’सांसद राईले भने ।

IMG_3882

पुर्वसभासद धर्मराज निरौलाले पत्रकारिताको मानक बनाएर अघि बढ्न आवश्यक भएको बताए भने नेपाल पत्रकार महासंघ १ नं प्रदेश अध्यक्ष बिक्रम लुँइटेलले पत्रकारहरुलाई बेलुका खानपिन गराउदा समाचार आउछ भन्ने सोच त्याग्न आग्रह गरे । साथै उनले साना मिडियाहरुलाई प्रर्वद्धन गर्ने खालको नीति ल्याउनुपर्ने बताए ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले जनभावना तथा आम जनसरोकारको बिषयमा कलम चलाउन आग्रह गरिन् । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले पत्रकारहरु निष्पक्ष हुनुपर्ने बताए भने मितेरी बैंकका सिइओ तुलसी प्रसाद वस्तीले आर्थिक समाचारले पहिलो पेजमा स्थान पाउदा त्यो मुलुक कतिको समृद्ध छ भन्ने बुझिने बताए । कांग्रेस नगर सभापति तिलक राईले जनताको सुसुचित हुने अधिकारबाट बञ्चित नहुने गरी पत्रिका र पत्रकारहरुले काम गर्नुपर्ने बताए । साथै, अब पत्रिका रंगीन भएजस्तै खुराकहरु पनि रंगीन हुनुपर्ने बताए ।