ओखलढुंगा : सिद्धिचरण नगरपालिका–२ निसंखेमा आगलागी हुँदा एक घर जलेर र आठ चौपाया जलेर नष्ट भएका छन् ।

सोमबार साँझ भएको आगलागीका कारण स्थानीय तिलक कार्कीको घर र चौपाया जलेका हुन् । प्रहरी चौकी निसंखेका प्रहरी र स्थानीयको प्रयासले आगो नियन्त्रण गरिए पनि खरले छाएको छानो र पानीको अभावका कारण घरभित्र रहेका खाद्यान्न धनमाल केही जोगाउन नसकिएको स्थानीय सविन कार्कीले बताए ।

आगलागीबाट अन्दाजी ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । आगो लाग्नुको कारण र क्षतिको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।