धरान: साविक नेकपा एमालेबाट निवार्चित जनप्रतिनिधिहरुले नगरको विकास र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउदै नेपाली कांग्रेस धरान उपमहानगर समितिले छाँया सरकार बनाउने घोषणा गरेको छ ।

चैत ३० गते बसेको कांग्रेसको बैठकले २०४८ सालयता एउटै पार्टीले निरन्तर चुनाव जितेपनि धरानको विकासमा ठोस उपलब्धी हासिल हुन नसकेको भन्दै छाँया(स्थानीय) सरकार बनाउने निर्णय गरेको हो । कांग्रेसले सो बैठकको निर्णय विज्ञप्तीमार्फत जारी गर्दै छाँया सरकार गठनको घोषणा पनि केही दिनभित्रै गर्ने जनाएको छ । ‘कार्यविभाजनको लागि पार्टीको स्थानीय तहका सबै नेता एवं कार्यकर्ताहरुसँग परामर्श गरी चाडै घोषणा गर्ने निर्णय गरियो,’विज्ञप्तीमा भनिएको छ ।

प्रजातन्त्र पुर्नस्थापना यताका सबै स्थानीय चुनावमा एमालेले बहुमतमा जित हासिल गरेपनि घोषणा पत्रमा उल्लेख गरिएका कुराहरु कुनै पनि पुरा गर्न नसकेको कांग्रेसको आरोप छ । ‘२०४८ सालदेखि नै पार्टीको घोषणा पत्रमा लेखिएका कुराहरु जस्तै बसपार्क निर्माण, सुकुम्बासी समस्याको दीर्घकालिन समाधान, एयरपोर्ट निर्माण, बजार व्यवस्थापन, पिउने पानी समस्याको समाधान, सडक स्तरोन्नतीलगायत जनतालाई कबुल गरेका कुनै पनि कामहरु पुरा त हैन, सुरुवातसम्म गर्ने ल्याकत राख्न सकेको छैन,’सचिव तथा प्रचार विभाग प्रमुख श्याम पोख्रेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

रक्सी एउटै बोतल मात्र अलग भन्ने उखान जस्तै सबै चुनावी घोषणा पत्रको पाना, रंग, आकार परिमार्जन भएको र नगरप्रमुख, सांसदको पनि नाम, अनुहार, थर, वर्ण, लिङ्गमात्र फेरिएको कांग्रेसको आरोप छ । ती जनप्रतिनिधिहरुले नगर, क्षेत्रको विकास र जनताको पक्षमा कुनै काम गर्न नसकेको विज्ञप्तीमा उल्लेख छ । हाल नेकपाबाट चुनिएका जनप्रतिनिधिहरु पनि सबै किसिमले आलोचित र धराने जनतालाई न्याय गर्न नसक्ने र धरानलाई विकासमा पचासौ बर्ष पछाडि धकेल्ने देखिएको कांग्रेसले निष्कर्ष निकालेकोछ ।

press5

कांग्रेस सचिव पोख्रेलले स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेर जनता पीडित भएको कारण गहन दृष्टिलगाउनु पर्ने देखिएकोले छाँया सरकार गठन गर्ने निर्णय गरिएको बताए । ‘जनप्रतिनिधिको गतिविधिले जनता पीडित छन् । जनता एकातिर, जनप्रतिनिधि अर्कोतिर भएको अवस्था छ । विकासको कामहरु अलपत्र छन्, बाटो खनेर छाडिएको छ, जनप्रतिनिधि आफै ठेकेदार छन्,’उनले भने,‘यी सबै बिषयहरुमा निगरानी गर्नुपर्ने अवस्था छ । कामकारवाही, बजेट परिचालन, कामलाई पारदर्शि बनाउने सबै बिषयमा हेछौं । भ्रष्टचार छ भने अख्तियार जान्छौं ।’

विभाग गठन गरेर जिम्मेवारी बाँडफाट

कांग्रेसले धरानमा पार्टी संगठनलाई मजबुत र चलायमान बनाउन विभिन्न विभाग गठन गरी जिम्मेवारी पनि दिएको छ । कांग्रेसले प्रचार विभाग, महिला विभाग, स्वास्थ्य विभाग,वन तथा सहकारी विभाग र आर्थिक विभाग गठन गरेको हो । साथै, बैठकले प्रचार विभाग संयोजकमा श्याम पोख्रेल, महिला विभाग संयोजकमा पञ्चकला राई, स्वास्थ्य विभाग संयोजकमा युवराज शंकर,वन तथा सहकारी विभाग संयोजकमा महेन्द्र तामांग र आर्थिक विभाग संयोजकमा सुवर्ण श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

चाडो चुनाव गर्न माग

बैठकले एक बर्षदेखि रिक्त रहेको धरान उपमहानगरपालिकाको मेयर पदको चुनाव चाडो गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ । आगामी जेठ ३ र ४ गते वृहत नगर भेला गर्ने निर्णय गरेको कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरि छापामार शैलीमा पार्टीको सबै निकाय चलयमान रहेको जनाएको छ । साथै, अझ गति प्रदान गर्न उपमहानगरभित्रका हरेक गतिविधिमा कांग्रेस खरो प्रतिपक्षको भुमिका निर्वाह गर्ने समेत निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।