धरान: कामना सेवा विकास बैंकले धरानबाट पनि आफ्नो बित्तिय कारोबार शुरु गरेको छ । आज मंगलबार धरान १२ स्थित जि.एस.मार्केटमा बैंकले शाखा विस्तार गरि कारोबार शुरु गरेको हो ।

एक कार्यक्रम गरी बैंकले कारोबार शुभारम्भ भएको घोषणा गरेपनि शाखाको औपचारिक उद्घाटन भने पछि गरिने जानकारी दिएको छ । ‘आज कारोबारको शुभारम्भ मात्र गरिएको हो, शाखाको औपचारिक उद्घाटन पछि हुन्छ,’शाखा प्रमुख रामचन्द्र साम्पाङ राईले भने । शाखाको कारोबार शुभारम्भ समारोहमा बैंकका निर्देशक देवचन्द्र काफ्ले, सहायक महाप्रबन्धन एवं १ नं प्रदेश प्रमुख सुजन छाराहाङ र अतिथिकोरुपमा सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीधारी सापकोटाको उपस्थिति रहेको थियो ।

बैकका निर्देशक काफ्लेका धरानमा बैंकको ८२ औं शाखा विस्तार भएको हो । निक्षेप संकलनसँगै लगानी पनि धरानमा नै गर्ने उनले बताए । ‘सामाजिक सेवाको भावना लिएर न अघि बढीरहेका छौ, सहयोगको अपेक्षा लिएर धरान आएका छौ,’निर्देशक काफ्लेले भने । उनका अनुसार बैंकको कुल निक्षेप २० अर्ब बढी छ भने लगानी १८ अर्ब हाराहारी रहेको छ ।

kamana-bank1

पोखरामा रहेको कामना र बुटवलमा भएको सेवा विकास बैंकबीच २०७४ साउनमा मर्ज भएको थियो । कामना २०६३ सालदेखि बित्तिय कारोबार गर्न शुरु गरेको थियो । आगामी असारसम्ममा १ सय १२ शाखा पुर्याउने लक्ष्य राखिएको काफ्लेले बताए । बैंकका सहायक महाप्रबन्धक छाराहाङले राष्ट्रियस्तरको बैंक भएकोले देशैभरि शाखा विस्तारको अभियानमा रहेको बताए । साथै उनले १२ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण दिइरहेको पनि खुलाए । ‘हामी अहिले प्रदेश १, २ र ३ मा शाखा सञ्जाल बढाउने अभियानमा छौ, पुर्वमा थुप्रै ठाउँमा भइसक्यो,’उनले भने,‘निक्षेपमा पनि राम्रो सुविधा छ, ऋण लिदा पनि ११.९९ प्रतिशतमा दिइरहेका छौ, १२ प्रतिशत मुनि ब्याजदरमा ऋण दिने बैंकहरु कमै छन् ।’

कार्यक्रममा अतिथि सापकोटाले बित्तिय संस्थाहरुको शाखा विस्तारले धरानमा लगानी बढ्ने आशा व्यक्त गर्दै बैंकहरुले स्थानीयस्तरमा पनि धरानको विकासको लागि केही बजेट विनियोजन गर्न आग्रह गरेका थिए । ‘नाफा सबै माथि नलैजानुस्,धरानको विकासकोलागि पनि बजेट विनियोजन गरिदिनुस्,’उनले भने ।