धरान: काठमाण्डौंमा जारी आठौं राष्ट्रिय खेलकुदअन्र्तगत गल्फ प्रतियोगितामा १ नं प्रदेशले टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।

पार ७२ को गोकर्ण रिसोर्ट गल्फ कोर्षमा कुल ६ अण्डर २८२ स्कोर खेल्दै प्रदेश नं १ ले गल्फमा स्वर्ण पदक जितेको हो । १ नं प्रदेशको टिममा खेलाडीहरु शुक्रबहादुर राई, बबिन्द्र राई र निरज तामाङ रहेका छन् । यी तिनै जना खेलाडीहरु भने सुनसरी धरानका हुन् । उनीहरु धरानस्थित निर्वाणा कन्ट्री गल्फ कोर्षका उत्पादन हुन् । प्रदेश १ ले पहिलो दिन सोमबार इभन पार १४४ खेलेको थियो भने दोस्रो दिन मंगलबार ६ अण्डर १३८ स्कोर खेलेको थियो ।

टिममा ३ जना खेलाडी भएपनि उत्कृष्ट २ जनाको स्कोर गणना हुन्छ । प्रदेश १ का शुक्रले पहिलो र दोस्रो दिन समान २ अण्डर ७० स्कोर खेले भने निरजले पहिलो दिन २ ओभर ७४ र दोस्रो दिन ४ अण्डर ६८ स्कोर खेलेका थिए । प्रतियोगितामा ७ ओभर २९५ स्कोर गर्दै विभागीय टिम नेपाल आर्मी दोस्रो स्थानमा रहदै रजत पदक जितेको छ भने गण्डकी प्रदेश २३ ओभर ३११ स्कोरको साथमा तेस्रो भएर काँस्य जितेको छ ।

8th-national-golf

यसैगरि, व्यक्तिगत तर्फको स्पर्धामा पनि १ नं प्रदेश(सुनसरी)का खेलाडीहरु नै शीर्ष ३ मा रहेको १ नं प्रदेशका कोच तथा टिम मेनेजर एवं धरान गल्फ क्लबका सचिव जितेन्द्र राईले जानकारी दिए । उनका अनुसार व्यक्तिगततर्फको विजेताहरुको मेडल भने गणना गरिदैन । दोस्रो दिनसम्मको खेल सकिदासम्म सुनसरीका टंकबहादुर कार्की ६ अण्डर १३८ स्कोरका साथ शीर्षस्थानमा छन् भने शुक्रबहादुर राई ४ अण्डर १४० स्कोरका साथ दोस्रो स्थानमा छन् । यस्तै, १ नं प्रदेशकै निरज तामाङ २ अण्डर १४२ स्कोरका साथ तेस्रो स्थानमा छन् ।

तस्बिर सौजन्य:जितेन्द्र राई