विराटनगर: नयाँ बर्षको पहिलो दिन (वैसाख १ गते) विराटनगर १६ मा बाँसघारीमा शंकास्पद बस्तु भएको खबर पुग्यो । प्रहरीले स्थलगत गएर हेर्दा गोलीसहित हतियार लुकाएर राखेको भेट्यो ।

इलाका प्रहरी कार्यालय रानीको टोलीले युएसमा बनेको पेस्तोल र २ थान गोली भेटेको थियो । हतियार फेला परेपछि प्रहरी गम्भीर भयो । कसैलाई हत्या गर्ने उद्देश्यले पो ल्याएको हो की ? गहिरो अनुसन्धान शुरु गरेको प्रहरीले अन्तत: हतियार भएको सुचना दिने व्यक्ति(खबरी)ले नै हतियार भारतबाट खरीद गरेर ल्याएको रहस्य खोतल्न सफल भयो । उनले हतियार ल्याउनुमा जग्गा कारोबारीलाई धम्क्याउनु रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

हतियार वरामद भएपछि प्रहरीले गोप्य अनुसन्धान थालेको थियो । त्यसक्रममा पहिलो सुचना दिने व्यक्ति विराटनगर १६ का ३५ बर्षीय मणी सिंहमाथि प्रहरी अनुसन्धान सोझियो । सिंह पक्राउ परे । पेस्तोल उनले नै बाँस झ्याङमा राखेको तथ्य नजिक प्रहरी पुगेपछि उनलाई नियन्त्रणमा लिएको थियो । ससुरालीमा बस्दै आएका सिंहले २० हजार नेपाली रुपैयामा भारतबाट पेस्तोल किनेर ल्याएको खुल्यो । उनलाई अदालतबाट हातहतियार तथा खरखजनाअन्र्तगत मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रहरीका अनुसार सिंहको ससुरालीमा केही बर्षदेखि जग्गाको विवाद थियो । त्यही विवादको लागि सिंहले हतियार देखाएर धाक, धम्की दिनको लागि भारतबाट पेस्तोल ल्याएको अनुसन्धानमा रहेका एक प्रहरीको भनाई छ । सिंहले बाँस झ्याङमा पेस्तोल राख्नुको उद्देश्य बाँसझ्याङ नजिकै घर भएका व्यक्तिलाई फसाउने नियत भएको प्रहरीको भनाईछ । बाँस झ्याङ नजिक सवेन्द्र सहनीको घर छ । उनी पनि सिंहका ससुरालीपटिबाट नातेदार नै हुन् ।