धरान :वैदेशिक रोजगारीमा गएपछि भनेको जस्तो काम र तलब नपाएको, यातना भोगेको मात्र होइन, नेपाली महिला वा पुरुषको ज्यानै गएको थुप्रै घटनाहरु छन् । अब त्यस्तो घटना नहोस् भनेर धरान १३ स्थित इलाका प्रशासन कार्यालयमा वैदेशिक रोजगारबारे परामर्श तथा सुचना दिन सहायता कक्ष स्थापना गरिएको छ ।

धरान उपमहानगरपालिकाको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु संगठित संस्था सामना नेपालले परामर्श कक्ष स्थापना गरेको हो । बुधबार एक समारोहबीच आप्रवासी महिला कामदार समुह(आमकास) नेपालकी संस्थापक अध्यक्ष विजय राई श्रेष्ठले परामर्श तथा सुचना केन्द्रको उद्घाटन गरेकी थिइन् । विदेश जानको लागि पासपोर्ट बनाउन आउनेहरुलाई त्यसै बेला परामर्श दिने उद्देश्यले इलाका प्रशासन कार्यालयमा नै परामर्श तथा सुचना कक्ष खोलिएको सामनाकी अध्यक्ष चेतना सेरेङले बताइन् । ‘उपमहानगरपालिकाको सहयोगमा परामर्श कक्ष खोलेका हौ, अधिकांश वैदेशिक रोजगारीमा जानलाई नै पासपोर्ट बनाउन इलाका प्रशासन आउने भएकोले यही परामर्श दिने उद्देश्य हो,’उनले भनिन् ।

IMG_20190417_113227

वैदेशिक रोजगारीमा गएर फर्किएका महिलाहरुको सवालमा विगत १८ बर्षदेखि कार्यरत आमकास नेपालीका संस्थापक अध्यक्ष विजय राईले यथार्थ नबुझी विदेश जादा धेरै समस्यामा पर्ने गरेकोले पहिल्यै सजग र सचेत गराउन परामर्श कक्ष प्रभावकारी हुने बताइन् । यो कक्षबाट महिलालाई मात्र नभई पुरुषहरुलाई पनि आवश्यक परामर्श दिइने उनको भनाई छ । ‘हाम्रा दिदीबहिनी र दाजुभाईहरु म कुन देश जादैछु, के कामको लागि जादैछु, त्यहाँको भाषा, हावापानी र परिस्थिति के छ भनेर बुझ्दै नबुझी जान्छन्, र दुःख पाउछन्,’उनले भनिन्,‘अब पछि जानेहरुले पनि त्यस्तो भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’

विगतमा वैदेशिक रोजागरीबाट फर्किएका महिलाहरुलाई समाज, मिडिया सबैले हेर्ने दृष्टिकोणमा अहिले धेरै परिर्वतन आएको पनि राईले बताइन् । आफ्नो संस्थाले शुभयात्रा मोवाइल एप्समार्फत पनि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई धेरै सचेत गराइरहेको उनको भनाई थियो । ‘राम्रो बुझेर मात्र जानुपर्छ, अनि दुःख पाइदैन भन्ने चेतना सबैमा हुनुपर्छ । हामीले निरन्तर त्यसैको लागि काम गरिरहेका छौ,’उनले भनिन् ।

IMG_20190417_115205

इलाका प्रशासन कार्यालय धरानका निमित्त प्रमुख जयराम श्रेष्ठले कमाई राम्रो हुन्छ भन्ने आशा र प्रलोभनमा पनि परेर विदेश गएकाहरुले धेरै दुःख पाउने गरेको उल्लेख गर्दै परामर्श केन्द्र प्रभावकारी हुने बताए । धरान उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले आगामी असारसम्म परामर्श कक्ष सञ्चालनको लागि सहयोग रहने र परिणाम हरेर अर्को आर्थिक बर्षमा पनि निरन्तरता दिन सकिने बताए ।