ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “उच्च अधिकारीहरु नै नवीकरण गराउँदैनन् हतियार” शीर्षकको समाचार छापिएको छ । मोरङमा इजाजत लाइसेन्स प्राप्त हतियार राख्नमोरङमा इजाजत लाइसेन्स प्राप्त हतियार राख्नेको संख्या ७ सय २६ छ तर आर्थिक वर्ष २०७४, ७५ मा १ सय ४४ हतियार मात्र नवीकरण भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७३,७४ मा १ सय ७८ हतियार नवीकरण भएका थिए । अघिल्लो आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा ३३ वटा हतियार कम नवीकरण भएको प्रशासनको तथ्याङ्कले देखाएको छ । व्यक्तिगत सुरक्षाका लागि जिल्ला प्रशासनमा दर्ता गरेर हतियार राख्न सकिने प्रावधान छ । यसरी हतियार राख्नेहरुमा पूर्वअञ्चलाधिस, पूर्वप्रशासक, प्रधानपञ्च, सरकारका उच्च अधिकारी, राजनीतिज्ञलगायत विशिष्ट व्यक्तिहरु ब्ढी छन् । तर, यिनै अधिकारीहरुले हतियारको नवीकरण गराएका छैनन् । प्रशासनमा दर्ता गरेर राखिएका हतियार ५ वर्षसम्म पनि नवीकरण नगरे स्वतः अवैध हुने व्यवस्था छ ।

औजार : आजको औजार दैनिकमा “हस्ताक्षरलाई मात्रै वडा सदस्य” शीर्षकको समाचार छापिएको छ । सुनसरीको स्थानीय तहका जनप्रतिनिधिहरुमा वडा सदस्यहरु भुमिका विहिन रहेको पाइएको छ । प्रत्येक वडामा २ महिला सहित चार जना वडा सदस्यहरु रहेकोमा उनीहरु भूमिका विहिन रहेको पाइएको हो । इनरुवा नगरापालिकाको १० वटा वडामा गरिएको अध्ययनको क्रममा महिला सदस्यहरु वडा अध्यक्षको फोनको भरमा सही गर्ने गरेको पाइएको छ । वडा सदस्यहरुलाई वडा अध्यक्ष र सचिवले काम, कार्यक्रम तथा योजनाहरुको बारेमा जानकारी समेत नदिई निर्णयमा र भुक्तानी सिफारिसमा अनुगमन नै नगरी सही गराउने गरेको महिला वडा सदस्यहरुले गुनासो गरेका छन् । सही नगरे मासिक बैठक भत्ता रोकिदिने समेत चेतावनी दिने गरेकाले अक्षर नचिन्ने वडा सदस्यहरुले वडा अध्यक्षले जे मा सही गर्न भन्छन्, त्यहीमा सही गर्ने गर्ने गरेको इनरुवा ९ की वडा सदस्य शान्तिदेवी खात्वेले बताईन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “हावाहुरीले लाखौँको क्षति” शीर्षकको समाचार छापिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रारम्भिक रिपोटमै आधा दर्जनभन्दा बढीको घर टहरा उडाउनुका साथै लाखौँको कृषि व्यवसायमा क्षति पुगेको छ । त्रियुगा नगरापालिका–३ चाँपका कोकाई दास चौधरीको काठबाट निर्मित बाँसको टाटी र कर्कटपाताले छाएको घरको सेन्टीबेरा र छानो उडाएर अढाइ लाखभन्दा बढीको क्षति पुगेको छ । त्यस्तै त्रिनपा–२ जोगीदहका धुर्व परियारको काठले बनेको र टिनको छानोवाला घर उडाएर १ लाखभन्दा बढीको क्षति गरेको रिपोर्ट आएको प्रहरीको भनाइ छ । त्रिनपा ३ कै हात्तीमारास्थित उर्मिला मल्लिकको टिनको छानोवाला बाँसको बेरा लगाएको १ तले घरको हुरीले छानो उडाएर ७५ हजारभन्दा बढीको क्षति गरेको छ । त्रियुगा बसपार्क नजिकै डिभिजन सहरी विकास कार्यालयले बनाएको टिनको छानो र इँटाको गारोवाला एक तले भवनको छानो पनि हुरीले उडाएर ३ लाख भन्दाबढीको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।