काठमाडौं : नेपालले आफ्नो पहिलो भूउपग्रह स्याटेलाइट ‘नेपाली स्याट ’ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ ।

नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनीको रकेटबाट स्याटेलाइट पठाइएको हो ।

‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूउपग्रह प्रक्षेपण भएकोमा संलग्न सबैलाई बधाइ दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१ प्रक्षेपण भएको छ, योसँगै नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचिमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’

करिब डेढ करोडको लागतमा बनेको यो स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ । यो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ । घनाकार स्याटेलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर छ । यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी ९क्युटेक० मा नेपालका २ र अन्य देशका ८ वैज्ञानिकले तयार पारेका हुन् ।

यसको आयु अधिकतम ३ वर्ष हुने र यसले खिचेका तस्बिरहरू सामान्य खालका हुने नास्टको प्रविधि विभाग प्रमुख डा। रवीन्द्र ढकाल बताउँछन् । प्राविधिक रुपमा उच्च क्षमताको नभए पनि आफ्नै स्याटेलाइट अन्तरिक्षमा पुर्‍याउने पहिलो कदम नेपालको विज्ञान क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको ढकाल बताउँछन् ।

स्याटेलाइटले अन्तरिक्षमा पुग्ने बित्तिकै भने काम सुरु गर्ने छैन । अन्तरिक्षमा पुगेको झन्डै एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसनमा गएर बस्ने छ । प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि मात्र स्याटेलाइट पृथ्वी वरिपरि घुम्ने छ ।

मे महिनाको अन्त्यबाट पृथ्वीको चक्कर काट्न थाल्ने र त्यसको तीन दिनपछि स्याटेलाइटले तथ्यांक पठाउन सुरु गर्ने अनुमान गरिएको छ । यो स्याटेलाइटले पृथ्वीसँग निश्चित दुरीमा रहेर ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने छ ।

यस क्रममा नेपालको आकाशमाथि दैनिक ४ देखि ५ मिनेट रहने छ । यसले पठाउने तथ्यांक र सूचना विश्लेषणका निम्ति ‘ग्राउन्ड स्टेसन’ तयार नरहे पनि पृथ्वीको चक्कर काट्न थाल्ने बेलासम्म निर्माण पूरा गर्ने योजना रहेको ढकालले बताए ।यसको आयु नसकिँदै मध्यम आकारको अर्को स्याटेलाइट उडाउने नास्टको लक्ष्य छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइने उक्त स्याटेलाइटहरुले भने अहिलेको भन्दा गुणस्तरिय सूचना संकलन गर्ने विश्वास लिइएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले यो उडानको प्रत्यक्ष प्रसारण गर्दैछ । पहिलो भूउपग्रह प्रक्षेपण गरेसँगै अन्तरिक्षमा अब नेपालको पनि उपस्थिति देखिने भएको छ । –समाचार एजेन्सी