धरान: धरान भएर जाने ६ लेनको जोगवनी किमाथांका सडक र मदन भण्डारी राजमार्गको विवाद टुंगिएको छैन । यी दुई सडक विस्तार भएर जादा सयौं घरपरिवारको उठिबास हुने भन्दै धराने जनताहरु बाइपास गर्न माग गर्दै संघर्षरत छन् ।

यी दुई सडक विस्तारबारे विवादले प्रभावित भएपनि धरानको मुख्य बजार क्षेत्रको देशीलाइन सडक भने अहिले धमाधम विस्तार भइरहेको छ । यो सडक विस्तार गरिदा उल्लेखनीय पक्ष के छ भने स्थानीयबासी आफैले आफ्नो घर, पसल भत्काएका छन् । सडक विस्तारको लागि घर भत्काउदा र पुनः बनाउदा लाखौं खर्च भए पनि उनीहरुले सहर्ष स्वीकार गर्दै आफुहरु विकासप्रेमी भएको सन्देश दिएका छन् । ‘मापदण्डमा परेको घर भत्काउन एउटा घरधनीको मात्र २५, ३० लाख खर्च भएको छ, तर पनि देशीलाइनबासीले सडक विस्तारको लागि त्यो क्षति आफैले व्यहोरेर घर भत्काए, विकासमा सहकार्य गरे, उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छौ,’देशीलाइन टोल विकास संस्थाका अध्यक्ष सुधिरसिंह लिम्बूले भने,‘उहाँहरुले जग्गा पनि छोडिदिनु भयो, धरानेहरु विकासप्रेमी छन् भन्ने उदाहरण हो यो ।’

desi-line2

देशीलाइन सडक योजना चालु आर्थिक बर्षमा उपमहानगरपालिकाको नगरको गौरवको योजनामा समेटिएको छ । यो सडक भानुचोकदेखि पुर्वतर्फ माछाभौडीसम्म पुग्छ । सडकक्षेत्र विस्तार भएर ५० फिट हुनेछ । त्यसमध्ये ३६ फिट कालेपत्रे(पिच) हुनेछ भने दुवैतर्फ ७/७ फिटमा ड्रेन र पेटी बन्नेछ । ‘यो एकदमै ब्यस्त सडक क्षेत्र हो, तर असाध्यै साँघुरो भएकोले विस्तार गर्न सबै सहमत छौ,’टोल विकासका अध्यक्ष लिम्बूले भने ।

यो सडक वडा नं २ मा पर्छ । भानुचोकबाट माछाभौडीसम्मको देशीलाइनलाई यो बर्ष ४० लाख बजेट विनियोजन भएको छ । त्यहाँ(माछाभौडी)बाट उत्तर सिंहदेवी चोकबाट पनि ५० फिटको बाटो विस्तार भएर जोडिदैछ । यो सडक तयार भएपछि धरान बजारमा वान वे योजना लागु गर्न पनि सहज हुने वडा २ का सदस्य धर्म तामाङ बताउँछन् । ‘भविष्यमा यो धरानको महत्वपुर्ण सडक बन्नेछ,’उनले भने । उनका अनुसार सडक मापदण्डमा परेका २४ वटा घरलाई घरधनी आफैले भत्काएका छन् । उपमहानगरका सिभिल इञ्जिनियर सौहार्द श्रेष्ठका अनुसार यो सडक योजना कुल १ करोड माथिको हो । यो बर्ष बाटो काट्ने, २ तिर ड्रेन बनाउने लगायत काम हुनेछ । सडक क्षेत्रमा पर्ने विजुलीको पोल, खानेपानी पाइपलाइन सार्नेलगायत पनि काम हुने उनले बताए ।

पेन्सनर लाइनबाट बनेको देशीलाइन

desiline

अहिलेको देशीलाइनलाई उहिल्यै पेन्सनर लाइन भनिन्थ्यो । यहाँ ब्रिटिश र भारतीय आर्मीका पेन्सनरहरु बसेको ठाउँ हो । धरानको पुरानो मध्येको बाटो हो यो । परदेशबाट आएर बसेको हुनाले देशी भनिन थालियो । त्यही ठाउँ र बाटो अहिले देशीलाइन भएको टोल विकास संस्थाका अध्यक्ष लिम्बूको भनाई छ ।

IMG_20190219_100449