काठमाडौं : प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् ।

पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्यूज डटकम’का सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानुनअन्तर्गत् पक्राउ परेको भनी नेपाल पत्रकार महासंघ र विभिन्न संगठनले विरोध गर्दै आएका थिए । न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको थियो ।

सम्पादक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले यही वैशाख २ गते पोखराबाट पक्राउ गरेको थियो । प्रकाशित समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानुनी प्रावधानविपरीत पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाइएकामा आपत्ति जनाइएको थियो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले काउन्सिलमा गिरीको अनलाइन दर्ता नभएको भनी प्रहरीलाई गलत विवरण दिएका कारण समस्या उत्पन्न भएकोमा न्यायालयले न्याय दिएकोमा सन्तोष व्यक्त गरे ।