विर्तामोड : अब बन्ने भवन तथा घरलाई भूकम्पीय जोखीमबाट बचाउन सहर, गाउँ र टोलमा निर्माणकर्मी (डकर्मी)हरुका लागि सीप अभिवृद्धि गराउने उदेश्यले अर्जुनधारा नगरपालिकाले निःशुल्क तालीम सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजना र डाउनहिल कन्सटक्सन एण्ड डिजाइनर्स प्रा.लि बिर्तामोड–४ को प्राविधिक सहयोगमा सातदिवसीय डकर्मीका लागि तालीम सञ्चालन गर्दै बुधबार सम्पन्न गरेको हो । नगरमा क्रियाशिल डकर्मीहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको बरिष्ठ योजना अधिकृत हिमराज सेडाइले जानकारी दिए ।


तालिमको समापन गर्दै नगर प्रमुख रानाले अब बन्ने घर तथा भवन भूकम्प प्रतिरोधी हुनु जरुरी छ, त्यसैले आफूले प्राप्त गरेको ज्ञानसिप सर्वसाधारण नागरिक र सार्वजनिक स्थानमा केन्द्रित गरी सबैको हितमा राखेँर काम गर्ने सुझाव दिए । उनले बाहिरका कामदार भित्रिने कुरालाई इङित गर्दै मुखको रोटि थुत्नेलाई डकर्मीले अब जाग्नुपर्ने बताए । प्रमुख रानाले डकर्मीहरुको मेडिकल इन्सुरेन्स र लाइफ इन्सुरेन्स शर्तको रुपमा अनिवार्य पहिलो पालना गर्नुपर्नेमा जोड दिए । आफ्नो–आफ्नो संस्कार जहाँ भएपनि समाजमा खलबल पुर्याउने क्रियाकलाप त्यागेर सकरात्मक सोच र स्वास्थ्य हुने व्यवहार गर्ने उनले सुझाव दिएका थिए ।
तालिमका संयोजक अर्जुन घिमिरेले नेपालमा भूकम्पको कारणबारे सहभागिहरुलाई जानकारी गराएका थिए । तालिममा सहभागिता जनाएकाले तालिम लिइसकेपछि आफनो ३५ प्रतिशत इस्कोर प्रगति गरेको प्रगति गरेको उनले दाबी गरे ।

नगरमा डकर्मीको आवेदन आह्वान गरी मुख्य पेशा बनाएका डकर्मीको छनोट गरी तालीममा सहभागी गराइएको थियो । चैत्र २८ गतेबाट तालीम शुरू भई २०७६ बैशाख ४ गते सम्पन्न भएको हो ।

भूकम्प प्रतिरोधी भवन निर्माण डकर्मीहरुलाई ३५ जनालाई तालीम दिएर दक्ष बनाइएको नगरका इञ्जिनियर निरज अधिकारीले बताए । पाठ्यक्रमका आधारमा डकर्मीको शीप वृद्धि गरेर भूकम्प प्रतिरोधी घर बन्न सक्ने उनले विश्वास व्यक्त गरे ।
नगरको सभाकक्षमा भएको कार्यक्रममा आवश्यक सम्पूर्ण ज्ञान दिई दक्ष बनाएर प्रमाणपत्र समेत नगर प्रमुख रानाले सहभागि जनाएकाहरुलाई प्रदान गरेका थिए ।