धरान: भेडेटार नजिक भएर पनि ओझेलमा परेको धरानको वडा नं ४ स्थित देवीथानमा पनि समुदायस्तरमा होम स्टे(घर बास) कार्यक्रम शुरु भएको छ ।

धरान आसपासको पर्वतीय क्षेत्रको प्राकृतिक सौन्दर्यसँगै ग्रामिण परिवेश र प्रकृतिको सदुपयोग गर्दै पर्यटन विकास गर्ने उद्देश्यले धरान उपमहानगरपालिका, पर्यटन समितिको पहलमा देवीथानमा पनि होम स्टे शुरु भएको हो । यसअघि, धरानको वडा नं २० स्थित कोकाहमा पनि सामुदायिक होम स्टे शुरुवात भएको थियो । यो बर्ष धरान उपमहानगरपालिकाले ग्रामिण क्षेत्रमा होम स्टे प्रर्वद्धन गर्दै धरानको पर्यटन प्रोडक्ट बनाउने अभियानमा छ । आज शुक्रबार बिहान एक कार्यक्रमबीच कार्यवाहक प्रमुख मञ्जु भण्डारीले धरान ४ देवीथानस्थित होम स्टेको उद्घाटन गरेकी थिइन् ।

उनले ५ वटा गमलाको फुलमा पानी हालेर उद्घाटन गरिन् । देवीथानमा ५ वटा घरमा होम स्टे छ । त्यसैको प्रतिनिधित्व गराउदै ५ वटा गमलाको फुलमा पानी हालिएको हो । देवीथान विगतमा पाँचकन्या गाविसअन्र्तगत पथ्र्यो । गाविस धरानमा गाभिएपछि देवीथान वडा नं ४ मा पर्छ । यो वडा भौगोलिकरुपमा पहाडी र दुर्गममा पर्छ । होम स्टे उद्घाटन गर्दै कार्यवाहक मेयर भण्डारीले वडा नं ४ लाई समृद्ध र विकासित बनाउने यात्राको पनि शुरुवात भएको बताइन् ।

devi-than

उनले होम स्टेमा आउने पाहुनाहरुलाई थप आकर्षित गर्न आसपासमा भएको गन्तव्यहरुको पहिचान गराएर पहुँच मार्ग बनाउन र प्रर्वद्धन गर्न पनि आवश्यक रहेको बताइन् । साथै, उनले कृषि उत्पादनमा जोड दिर्दै पाहुनाहरुलाई गाउँकै उत्पादन खुवाउन सके आम्दानी बढ्ने बताइन् । ‘आफ्नै कृषि उत्पादन गर्नुपर्छ, यहाँको डाँडापाखामा जडिबुटी लगाउनुपर्छ । पाहुनाहरु घर फर्किदा केही न केही कोसेली लैजाने अवस्था बनाउनुपर्छ,’उनले भनिन् ।

धरान उपमहानगरपालिकाले दानाबारी, हर्दिया, सेर्गे हुदै भेडेटार निस्कने पदमार्ग पनि विस्तार गरिरहेको छ । त्यो पदमार्गबाट पनि देवीथान होम स्टेलाई लाभ पुग्ने उनले बताइन् । ‘यहाँका प्राकृतिक सौन्दर्यलाई बेच्नुपर्छ, खानेकुरा यही नै उत्पादन होस्,’उनले भनिन् । पर्यटन समितिका सहसंयोजक किसोर थुलुङले यो बर्ष धरानको पर्यटन प्रोडक्ट होम स्टे बनाउने अभियानलाई निरन्तरता दिएको बताए । आगामी बर्ष पुर्वाधार र थप प्रर्वद्धनमा जोडदिने उनले बताए । राजनीतिकर्मी एवं सामाजिक अभियन्ता मुरारी सुवेदीले पर्यटन र होम स्टेलाई रोजगारीसँगै आर्थिक आम्दानीसँग जोड्नुपर्ने बताए ।

IMG_20190419_074101

आफ्नो घरमा होम स्टेसमेत शुरु गरेका वडा नं ४ का सदस्य गोरस मान आलेमगरले गाउँको विकास हुने र आर्थिक रुपमा पनि टेवा पुग्ने अपेक्षा लिएर होम स्टे शुरुवात गरिएको बताए । उनले कोरियन प्रविधिको इको प्यानलबाट चिटिक्कको घर बनाएका छन् । जसमा एट्याच ट्वाइलेट र बाथरुम सुविधा पनि छ । घरबास कार्यक्रममा यो नौलो प्रयोग पनि हो । अर्का युवा गणेश थापाले २० लाख लगानीमा देवीथान भिलेज कटेज शुरु गरेका थिए । गाउँमा होम स्टे अवधारणा आएपछि उनले कटेजलाई पनि घरबास कार्यक्रममा परिणत गरेका छन् । कुल ५ घरमा २० जनाको क्षमता छ । देवीथान भेडेटार चोक पुग्नुभन्दा करिब ८ सय मिटर वरै छ । कोशी राजमार्गदेखि भने करिब ५० मिटर मात्र उक्लिनुपर्छ । यहाँबाट धरानसँगै तराईको सुन्दर दृष्यको अवलोकन गर्न सकिन्छ ।