नेपालमा धेरै विकास भएको छ । यति धेरै विकास भएको छ कि जुन विकास देखेर नागरिकहरुको कन्पारो तात्ने गरेको छ । कागजी रुपमा नेपालमा विकासका योजनाहरु धेरै छन् । ठेलीका ठेली योजना अनि ति योजना कार्यान्वयन भन्दापनि दराजभित्र बन्द छन् । तर देशका मन्त्री भने अझै योजना नै सुनाउन ब्यस्त छन् हरेक कार्यक्रममा । हामी यसो गर्छौं र उसो गर्छौ भन्दै । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले केहि महिना अघि काठमाण्डौको एक सार्वजनिक कार्यक्रममै मेचीदेखी महाकालीसम्म १ बर्षभित्रमा ४ लेनको सडक बनाउने सुनाए । त्यतीमात्र होईन । धेरै सडक स्तरोन्नती भएको पनि भन्न भ्याए उनले । मन्त्रीज्यूले भनेझै भईदियो भने त धेरै राम्रो हो । उहालाई नागरिकले बिश्वास गर्लान पनि । तर यस्ता गफ धेरै पटक सुनिसकेका छन् नागरिकले । त्यसैले पत्याईहाल्न चाँहि नसक्ने अवस्था भने पक्कै हो ।

दुर्घटना बढ्नुमा दोषी र कारक खोज्ने क्रममा हामीले केहि कारणहरु पत्ता लगाएका छौं । यो हेरौं:-

कारण नम्बर १ 

मुख्य राजमार्गको पुरानै संरचना

करिब ५ दशकभन्दा अघि तत्कालिन स्वर्गीय राजा महेन्द्रले परिकल्पना गरेको पूर्व पश्चिम राजमार्ग १ हजार २७ दशमलब ६७ किलो मिटर लम्बाईको रहेको छ । पूर्वी सीमा झापाको काँकडभिट्टादेखि सुदुर पश्चिम कञ्चपुरको गड्डाचौकीसम्म रहेको छ । बिक्रम सम्बत् २०१९ सालबाट निर्माण शुरु भएको यो राजमार्ग अहिले पनि पुरानै संरचनामा आधारित छ । यो मुख्य राजमार्गको विच सडकबाट २५/२५ मिटर दायाँ वायाँ चौडाभित्रको विच भाग ७ मिटरमा मात्र कालो पत्रे रहेको छ । तत्कालिन समयमा सिमित सवारी साधनहरुका लागि प्रयाप्त यो सडकमा अहिले अकल्पनीय ढंगले सयौ गुणा बढि सवारी साधनको चाँप बढेको भएपनि सडक संरचना उस्तै छ । मुलुककै मुख्य राजमार्ग अहिले पनि दुई लेण्ड अर्थात् मुस्किलले दोहोरो मात्र सवारी संचालन हुन सक्छन् । यो सडक फराकिलो पार्न आवस्यक छैन र ?

कारण नम्बर २

मुख्य राजमार्गमै जोडिएका शहरहरु

घना जंगलका बिचबाट तराईका जिल्लाहरुलाई छिचोल्दै निर्माण भएको यो सडकको आसपासमा अहिले अति नै अब्यवस्थित रुपमा शहरको विकाश भइरहेको छ । तत्कालिन समयमा घना जंगल र खुल्ला फाँट खेतीयोग्य जमिनहरु रहेको मुख्य राजमार्गको आसपास पूूर्वदेखि पश्चिमसम्म नै शहरको विस्तार हुनु पनि दुर्घटनाको अर्को कारक मान्न सकिन्छ ।

कारण नम्बर ३

मुख्य राजमार्ग आसपासमै विद्यालय, उद्योग र अस्पताल

मुख्य राजमार्ग आसपासमा शहरीकरण भएसंँगै शिक्षा, स्वास्थ्य र औद्योगिक प्रयोजनका लागि पनि मुख्य राजमार्ग आसपासको क्षेत्रनै रोजाईको मुख्य विकल्प बनेको छ । मानिसको दैनिक सरोकारसंँग जोडिएका शिक्षण संस्थाहरु, अपस्ताल तथा वित्तीय संघ संस्थाका साथै सरकारी कार्यालय देखी उद्योग कलकारखाना पनि यहि मुख्य राजमार्गलाई लक्षित गरि निर्माण भएका र भईपनि रहेका छन् । जसका कारण मानिसको ठुलो चहल पहल मुख्य राजमार्गमा नै हुने गरेको छ । यो पनि दुर्घटनाको मुख्य कारक मध्येमै पर्छ ।

कारण नम्बर ४

मुख्य राजमार्गमै जोडिएका क्षेत्रीय तथा शाखा सडकहरु

जब मुख्य राजमार्गको निर्माण भयो त्यस पछिका दिनमा आवश्यक नीति नियमको उचित कार्यान्वयन र अनुगमन हुन नसक्दाँ पछिल्ला दिनहरुमा आएर मुख्य राजमार्गसँग जोडेर ठाँउठाँउबाट क्षेत्रीय तथा शाखा सडकहरुको विस्तार हुने क्रम बढ्दै गएको छ । सर्वसाधारणहरुले अहिले पनि आफुखुशी, आफु अनुकुल मुख्य राजमार्गलाई लक्षित गरि साना ठुला शाखा सडकहरु विस्तार भइरहेका छन । जसका कारण प्रहरीलाई ट्राफिक व्यवस्थापन चुनौती बढाउदै लगेको छ । यो अवस्थाले सडक दुर्घटनाको अवस्थालाई झनै भयावह बनाउदै लगेको छ ।

कारण नम्बर ५

तिब्र गति

मुख्य राजमार्गमा होस् या शाखा सडकमा । बिस्तारै सवारी हाक्नेहरुको जमात देख्न छाडिएको छ । तिब्र गति जिवनको क्षति भन्ने जान्दाजान्दै पनि सडकमा सवारी यसरी हुईकिन्छन् कि मानौं उनीहरुलाई जति हतार अरु कसैलाई नै छैन जस्तो । मिल्ने भए मोटरसाईकल त उडाउला झै गरेर हुईकिन्छन् । यो पनि दुर्घटनाको मुख्य कारक मध्येको एक हो ।

कारण नम्बर ६

राजमार्ग आसपासका विज्ञापन बोर्डहरु

यसैगरि पछिल्ला दिनमा भएको प्रविधिको विकास र इन्टरनेटको बढ्दो सर्वसुलभताले पनि मुख्य राजमार्गमा दुर्घटना थपिदिएको छ । सवारी चालक, यात्रु देखि पैदल यात्रुले समेत यात्राका क्रममा मोवाइलको प्रयोग बढदै गएको छ । चालकले सवारी चलाउदाँ पुर्याउनु पर्ने ध्यानभंग गराउने मोवाइलका कारण पनि धेरै दुर्घटना हुनेगरेका छन् । पैदलयात्रीहरुले पनि मोवाइलमा सबै ध्यान केन्द्रित गर्दै सडकको अवस्थालाई ख्यालै नगरि यात्रा गर्नु बाटो काट्नु दुर्घटनाको अर्को कारण हो । यो संँगै मुख्य राजमार्गलाईनै लक्षित गरि व्यवसायिक प्रयोजन बढाउने उदेश्यले राखिएका विज्ञानपन बोर्डहरु पनि दुर्घटनाको अर्को कारण बनिरहेका छन । मानिसको ध्यान आर्कषण गर्ने गरि विभिन्न रुपमा युवतीका तस्विर तथा अन्य बस्तुहरु प्रयोग गरिनु र यसरी निर्माण गरिएका बोर्डका कारण पनि चालक तथा पैदलयात्रीको ध्यान भंगहुँदा अकल्पनीय दुर्घटना हुने गरेका छन ।