आफ्ना सन्तानलाई भोकभोकै राखेको तथा शारीरिक र मानसिक यातना दिएको आरोपमा अमेरिकाको क्यालिफोर्नियाका दुई अभिभावकलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

तर, उनीहरुलाई छोराछोरीले भने माफी दिएका छन् । डेविड र लुइज टर्पिनका छोराछोरीले अदालतमा आफूहरुले अझै पनि आमा र बुवालाई माया गर्ने बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । डेविड र लुइज सन् २०१८ को जनवरीमा पक्राउ परेका थिए । उनीहरुकी १७ वर्षीया छोरी क्यालिफोर्नियाको पेरिसमा रहेको घरबाट भाग्न सफल भएपछि दम्पत्तीलाई पक्राउ गरिएको थियो ।

उनीहरुले पछिल्लो ९ वर्षदेखि आफ्ना १३ सन्तानलाई यातना दिँदै आएका थिए । शुक्रबारको सुनुवाइका क्रममा चार सन्तानको बयान सुनाइएको थियो ।

बयानका क्रममा एक सन्तानले आफू दुवै अभिभावकलाई माया गर्ने बताए । उनले आफूहरुलाई हुर्काउन बाबुआमाले गरेको उपाय राम्रो नभए पनि त्यो गरेकोमा आफूलाई गर्व लागेको बताए । अर्का एकले आफूहरु हुर्किने क्रममा भएका घटनाको वर्णन नै गर्न नसकिए बताए । विगतको त्यो घटनामा बाबुआमालाई माफी दिने उनले बताए ।

अदालतमा बयान दिने सबैले भने उनीहरुलाई माफी दिएका छैनन् । अदालतले फैसला सुनाउने क्रममा ५७ वर्षका डेविड र लुइजले सन्तानसँग गरेको व्यवहारप्रति माफी माग्दै रोएका थिए । आफूहरुले राम्रो नियत राखेर होमस्कुलिङ र अनुशासन सिकाएको उनीहरुको भनाइ थियो । डेविडले आफूले कहिले पनि सन्तानलाई नोक्सानी गर्न नचाहेको र उनीहरुलाई माया गर्ने बताए ।