झापा : अर्थमन्त्री डा.युवराज खतिवडाले मुलकले २५ वर्षमा ठूलो फड्को मार्ने बताएका छन् । मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य महत्वपूर्ण रहेको भन्दै मन्त्री खतिवडाले उत्पादन क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे ।

झापाको कन्काई नगरपालिकामा वायो ग्याँस प्लान्टको शिलान्यास गर्दै उनले दीर्घकालीन दृष्टिकोणसहितको पञ्चवर्षीय योजनाको आधारपत्र तयार भएकाले २५ वर्षमा ठूलो फड्को मार्ने दाबी गरेका हुन् । सरकारले तोकेको ज्याला पाउनु पर्ने माग गर्दै चिया मजदुरले गरेको आन्दोलनका सन्दर्भमा उनले मजदुरको जिविकोपार्जन हुने गरी पारिश्रमिक दिन चिया उद्योगीलाई निर्देशन दिए ।

अर्थमन्त्री खतिवडाले चिया मजदुरको पारिश्रमिक निर्धारण भइसकेकोले सबै पक्षको समझदारीमा पारिश्रमिक विवाद टुंग्याउनु पर्नेमा जोड दिए । झापाका बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि कनकाई विर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन लिमिटेडले १६ करोड ७० लाख लागतमा वायोग्याँस बनाउन लागेको हो ।