बुटवलः भिभिआइपीको सुरक्षाको लागि बनाइएको सुरक्षा घेरालाई पनि पार गर्दै एक व्यक्तिले आज प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा कालो झण्डा देखाएका छन् ।

आज शनिबार ५ नं प्रदेशको बुटवलमा जितगढी विजयोत्सव समारोहलाई सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीलाई एक व्यक्तिले कालो झण्डा देखाएका हुन् । यसले भिभिआइपीको सुरक्षामा खटिएको सुरक्षाकर्मी र सुरक्षा घेराप्रति गम्भीर प्रश्न पनि उठेको छ । अचम्मका के छ भने कालोझण्डा प्रर्दशन गरिरहदा पनि सुरक्षाकर्मी कसैको नजर उनीमा परेको थिए । कार्यक्रमलाई सम्बोधन गरिरहेका प्रधानमन्त्री ओली आफैले सुरक्षाकर्मी कता छ ? भनेर सोधेपछि मात्र उनलाई पक्राउ गरेर बाहिर लगिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री आउने भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान र नगर प्रहरीसमेत सुरक्षाको लागि परिचालन गरिएको थियो । यस्तै, एक सयको हाराहारीमा स्वयमसेवक पनि परिचालन भएको आयोजकले जनाएको छ । प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने व्यक्ति बुटवल ११ मजुवाका रुद्रमणी घिमिरे भएको खुलेको छ । उनलाई हाल प्रहरीले नियन्त्रणमा राखेको छ । उनी सुरक्षा घेरा पार गर्दै मञ्चबाट करिब ५० मिटर अगाडि प्रवेश गरेर प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन सफल भएका थिए । उनले त्यसक्रममा 'उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ' भन्ने नारा पनि लगाएको बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा अघि बढीसकेकोले कसैले विरोध वा आलोचनाले फरक नपर्ने बताए । संघीयता अनुसार बनेको ३ तहकै सरकारले पहिलो बर्ष कानुन, कर्मचारी समायोजन र संरचना बनाउन खर्चनुपरेको उल्लेख गर्दै उनले अब देश विकासको गतिमा अघि बढ्ने नि बताए ।तस्बिर स्रोत: नागरिकन्यूज