मोरङ:गजलकार अनन्त अनुरागका गजलसँग पूर्वी नेपालको मोरङ उर्लाबारीका साहित्य अनुरागीहरु रमेका छन् । शनिबार उर्लाबारीमा भएको अनुरागको एकल गजल वाचन कार्यक्रममा उनले गजलका पारखीहरुलाई मुग्ध बनाए ।

बिर्सि गयौ भन्छौ यहि भनाई मेरो पनि हो ।
जुन आगोले जल्यौँ त्यो सलाई मेरो पनि हो ।
तिमीलाई लाग्छ असल म छु, दुनियाँ खराब छ,
समस्या त यो छ कि त्यो बुझाई मेरो पनि हो ।

उनले गजल सुनाउँदै गर्दा हलमा परर्र ताली सँगै वान्स मोर, वान्स मोर आईरह्यो । अनुरागले धनकुटाको पाख्रीबासमा बसेर गजलको क्षेत्रमा कलम चलाउँन थालेको २०६८ तिर देखि हो । उनी पछिल्लो पुस्ताका निकै रुचाइएका गजलकार हुन् । केही समयअगाडि मात्रै पनि काठामाडौँमा वाचन कार्यक्रम सकेर आएका उनी भन्दैथिए –

बुझिएन तिम्रो नजरको ईशारा ।
केही बोल्न बिन्ति लगाऊ किनारा ।
मरुँला खुशीले बरु ज्यान माग,
के झार्नु र नाथे गगनका सितारा ।

20190420_130859

उनले प्रेमिल, सराबी, समसामयिक ढेढ दर्जन बढी गजलहरु सुनाए । नेपाली साहित्य समाज उर्लाबारीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि कवि बद्री भिखारीले लेखन क्षेत्र निरन्तर लेखे मात्र बलियो हुने तर्क गरे । उनले भने,‘ठूलो उसलाई मान्नुपर्छ, उसले लेख्छ, हामीले जहिले पनि लेख्नुपर्छ भन्ने सोच्नुपर्छ, युवाहरुमा ताकत छ । हिम्मत छ । यस्तै हिम्मत र ताकत भएका गजलकार अनन्त अनुरागका गजलहरु सशक्त छन् ।’ उनले गजल लेखेर नै कवि हुने पनि बताए ।

कार्यक्रममा शुभकामना मंतब्य राख्दै उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत शम्भुप्रसाद भट्टराईले संसार अटाउनका लागि गजलको एक शेर नै काफी हुने बताए । उनले भने,‘गजल विधा भनेको सांगीतिक बिधा पनि हो । यो लेखकीय हिसाबले सुन्दर हुन्छ ।’ कार्यक्रममा गजलकार लोकेन्द्र बन्जराले अनुरागको परिचय गराउँदै उनको गजलको कृति ‘पर्दा’ प्रकाशोन्मुख अवस्थामा रहेको बताए । ‘उहाँले २०४४ सालमा जन्मिएर २०६८ सालतिरबाट गजल लेख्न सुरु गर्नुभएको हो । उहाँका गजलको ब्याख्या गरेर पूर्ण हुँदैन, त्यसका लागि गजल नै सुन्नुपर्छ,’बन्जराले भने ।

ananta-anuraag

कार्यक्रमकी सभाध्यक्ष उर्लाबारी साहित्य समाजकी अध्यक्ष मिश्र बैजयन्तीले युवासँग जोश, जाँगर र नयाँ कुरा रहेकाले युवाहरुले नै कलाले संसार निर्माण गर्न सक्ने बताईन् । उनले भनिन्,‘गजल मध्येको एक नम्बरमा अनन्त अनुरागलाई छानेको होईन । गजल मध्येको एक जना छानेको हो ।’ सोही कार्यक्रमको अवसर पारेर उनले दमक पब्लिक लाईब्रेरीलाई नगद दश हजार सहित एक दर्जन पुस्तक समेत हस्तान्तरण गरेकी थिईन् । आगामी दिनमा पनि यहाँका साहित्यिक गतिविधिमा क्रियाशिल रहने संस्थाका सचिव कृष्ण उदासीले बताए । कार्यक्रमको सञ्चालन गजलकार युवराज काफ्लेले गरेका थिए ।